कटारी । उदयपुरको कटारी नगरपालिकाका स्थानीयहरु सिद्धिचरण राजमार्गको प्रयोग नगरिकन नै सिराहा जिल्लामा प्रवेश गर्न पाउने भएका छन ।

कटारी नगरपालिका वडा नम्बर ६ रिस्कुको सोमबारेबाट सिराहा जिल्लाको धनगढीमाई नगरपालिकाको जिरोमाईल जान पाउने भएका हुन् ।
कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठको पहलमा उदयपुरको सोमबारे साँघुरी, राईराईनी हुँदै सिराहाको जिरोमाईल जाने सडक निर्माण हुने भएको छ ।रिस्कु–धनगढी सडकलाई सरकारको वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रम अन्तरगतका योजनामा २ करोड बजेट विनियोजन गरको कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए ।

संघीय सरकारको भौतिक पूर्वधार तथा यातायात मन्त्रालयले आर्थिक बर्ष २०७८÷७९ को बजेटमा सोमबारेबाट रिस्कु जोडने सडक निर्माणमा बजेट विनियोजन गरेपछि कटारीका स्थानीयहरुलाई यातायातमा सहज हुने स्थानीयहरुले जनाएको छ ।

मेयर श्रेष्ठका अनुसार राष्ट्रपति विद्यादेवी भण्डारीको समेत चाहनामा सोमबारे–साँघुरी हुदै जिरोमाईल जोडने सडकमा रकम विनियोजन भएको हो ।

‘२०४५ सालमा सिराहा र उदयपुरको सिमामा पर्ने राईरईनीमा सम्पन्न नेकपा मालेको चौथो महाअधिवेशनले मदन भण्डारीलाई महासचिवमा निर्वाचित गरेको स्थान हुँदै जाने भएकाले राष्ट्रपतिले उक्त सडकलाई विशेष चासो राख्नु भएको थियो ।’ मेयर श्रेष्ठले भने ‘नेकपा मालेको महाधिवेशन भएको स्थान हुँदै उक्त सडक जाने भएकाले विशेष महत्व राख्दछ ।’

लहान डिभिजन कार्यालयबाट कार्यान्वयन हुने गरि बजेट विनियोजन भएकाले उक्त बजेटले उदयपुर तर्फबाट काम थाल्न नगरपालिकाले पहल गर्ने मेयर श्रेष्ठको भनाई छ ।

पुरानो गोरेटो बाटोलाई सरकारले प्राथामिकतामा राखेर बजेट विनियोजन गरेपछि रिस्कुका स्थानीयहरु खुसी भएका छन ।

रिस्कुका बृद्ध दुर्गा प्रसाद पोखरेलले पहिले पहिले पैदल हिडने बाटोलाई सरकारले मोटर बाटोको रुपमा बनाउन लागेकोमा आफूहरुलाई खुसी लागेको छ । सोमबारे जिरोमाईल सडक बनेपछि कटारी नगरपालिकाका स्थानीयहरुले पूर्वपश्चिम राजमार्गमा पुग्न कटारी मिर्चैयाको सडक प्रयोग गर्नु पर्ने बाध्यता अव हटने छ ।

तपाईको प्रतिक्रिया