गाईघाट । त्रियुगा नगरपालिकामा चुरेक्षेत्र भएर बग्ने एक दर्जनभन्दा बढी खहरे खोलाको बाढीले हरेक वर्ष विपद् निम्त्याउँछन् । धनजनको क्षति, हजारौं बिघा जमिन कटान र डुबानको समस्या उदयपुरका लागि नौलो होइन ।

प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई सहित बाढीको उच्च जोखिममा रहेको बरुवा खोला तटबन्ध अनुगमन । तस्विर : नागरिक बहस

चुरे क्षेत्रको अप्राकृतिक दोहन, अतिक्रमण गरी तयार गरिएका पूर्वाधार, अव्यवस्थित बस्ती, चरिचरण, भूउपयोगको गलत अभ्यास लगायतका कारण चुरेको क्षयीकरण बढेको छ । जसका कारण बरुवा, ठाडी, फर्सेट, खेरजोरी खोला लगायतका खोलामा आएका बाढीसँगै बगेर आउने माटो, ढुंगा, गिटी र बालुवा नदीमा थुप्रिएर खोलाले धार परिवर्तन गरि खेतीयोग्य जमिन र बस्तीमा पस्ने सम्भावना बढेको छ ।

अधिकांश क्षेत्रमा खेतीयोग्य जमिन र बस्तीकै सतहमा खोलाको सतह पुगेकाले यो क्रम बर्सेनि बढ्दो छ । यसका अतिरिक्त खोला अतिक्रमणका कारण हरेक वर्ष तल्लो तटीय क्षेत्रमा खोलाको चौडाइ साँघुरो बन्दै गएको छ । नदीको बढ्दो सतह र तलतल साँघुरो बन्दै जाने नियमितताले खोलाको बाढीले धार छोडेर अन्यत्र प्रवेश गर्ने गरेको छ ।

ट्रयाक्टर व्यवसायीहरुले खोला किनार र तटबन्ध क्षेत्रमा समेत मनपरी उत्खनन गरेर ढुंगा निकाल्ने गर्नाले बरुवा खोलाको पुरानो तटबन्ध क्षेत्र कमजोर भएका कारण गाईघाट बजार नै उच्च जोखिमा रहेको छ ।जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाईले खोला भन्दा खेतीयोग्य जमिन र बस्ती तलभएपछि बाढी स्वतहः बस्तीमा पस्ने भएकोले जिल्ला विपद् व्यवस्थापन समितिको तर्फबाट निकासको पहल खोजिने बताए ।

त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले खोलाहरुको विच भागमा बालुवा थुप्रिएर खोला अनियन्त्रित भएकोले नियन्त्रण गर्न आफुहरु लागि परेको बताए । उनका अनुसार खोलाको विच भागको बालुवा निकाली च्यानल खनेर भएपनि बस्ती र खेतीयोग्य जमिन बचाउन आफुहरु लागि परेको बताए ।

यस्ता त्रियुगा नगरपालिकाका ११ का वडाध्यक्ष विश्वराज भट्टराईले बरुवा खोलामा आएको बाढीले बरुवा तटबन्ध उच्च जोखिममा रहेकोले तत्कालको लागि निकास निकाल्न तटबन्ध बाध्नु पर्ने बताएका छन् । उनले खोला विचमा थुप्रिएको बालुवालाई वर्षायाममै निकालेर खोला विचभागबाट बगाउनु पर्ने बताए । बरुवा तटबन्ध धेरै पुरानो भएकोले ठूलो पानी परेमा तटबन्ध जुनसुकै बेला भत्काउने भएको पानीको निकास खोज्नु पर्ने बताए ।

खेरजोरी खोलाको पुल तल खेती योग्य जमिन भन्दा खोला माथि छ । यसलाई समयमै नियन्त्रण गर्न नसकेमा बगहा चौरीका हजारौ विगहा खेतियोग्य जमिनमा बालुवा पुर्ने सम्भावना रहेको त्रियुगा नगरपालिका ४ का वडाध्यक्ष शुभाष निरौलाले बताए । उनका अनुसार खेरजोरी खोलाको विचमा थुप्रिएको गिट्टी, बालुवा व्यवस्थापन समयमै गर्न नसके हजारौं विगहा खेतियोग्य जमिनमा बालुवा थुप्रिए कृषक मारमा पर्ने बताए ।यत त्रियुगा नगरपालिका ३ स्थित ठाडी खोला पनि चाँपको बस्तीमा छिर्ने सम्भावना बढेकोले निकास निकाल्नु पर्ने बताए ।

जलाधार क्षेत्रमा चरिचरन, खेती र बस्तीलाई नियन्त्रण गरी व्यवस्थित गर्नु जरुरी रहेको डिभिजन वन कार्यालयका सहायक वन अधिकृत जागेश्वर साहले बताए । उनका अनुसार वन जंगल जथाभावी दोहनले चुरेका गिटी बालुवा बगेर तल्लो सतहमा थुप्रिन गएको बताए । यसको निकासको लागि चुरे दोहन रोक्नु पर्ने, नाङ्गो डाँडामा तथा नदी किनारमा वृक्षारोपण गर्नु पर्ने, जथाभावी चरिचरण रोक्नु पर्ने बताए ।

शनिवार त्रियुगा नगर विपद् व्यवस्थापन समितिको आयोजनामा जिल्ला विपद व्यवस्थापनका अध्यक्ष तथा जिल्ला प्रशासन कार्यालय उदयपुरका प्रमुख जिल्ला अधिकारी तुलसीराम सेडाई, विपद् व्यवस्थापन समितिका सदस्य तथा जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी शुभाषचन्द्र बोहरा, त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत जागेश्वर साह, विपद व्यवस्थापन समितिका सदस्य तथा नेपाल रेडक्रस सोसाइटी उदयपुरका प्रतिनिधि नारायण गोपाल थापा, त्रियुगा नगरपालिका इन्जिनियर गोपाल राय, पत्रकारहरुको समेत उपस्थितिमा बरुवा, ठाडी, फर्सेट र खेरजोरी खोलाको अनुमगन गरिएको थियो । खोला अनुगमनको क्रममा खोला भन्दा तल खेतीयोग्य जमिन र बस्ती देखिएको थियो ।

तपाईको प्रतिक्रिया