कटारी । उदयपुरको कटारी नगरपालिकामा सोलु करिडोर विद्युत प्रशारण लाइनको विवादले नगरपालिकामा तालाबन्दी गरेको छ । कटारी नगरपालिका ४ मरुवा स्थित मरुवाका स्थानीयले नगरपालिकामा तालाबन्दी बन्दी गरेको छ । विद्युत प्रशारण लाइनको टावर मरुवा सामुदायिक वनमा निर्माण गर्न र वस्तीमा टावर निर्माण गर्न नदिने अडान सहित तालाबन्दी गरेका छन् ।
अहिले निर्माणधिन रहेको सोलु करिडोर प्रशारण लाइनको विवादित क्षेत्रमा सयौँको संख्यामा प्रहरी परिचालन गरिएपछि स्थानीयहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरेको स्थानीय डाक बहादुर थापाले बताए । सोलु करिडोरको प्रसारण लाइनको टावर गाउँबाट राख्न दिए अन्य आयोजनाले पनि गाउँबाट टावर राख्न सक्ने भएकाले अन्यत्र सार्नुपर्ने मागलाई यथावत राखेको आन्दोलनरत पक्षको माग छ ।

बिगत तीन वर्षदेखि सोलु कोरिडोर प्रसारण लाइनको रुट परिवर्तनको लागि मरुवाबासीले माग गर्दै आएका छन् । रुट परिवर्तन गर्न प्रधानमन्त्री कार्यालय, उर्जा मन्त्री, विद्युत प्राधिकरण कार्यकारी निर्देशकलाई भेटर माग राख्दै आएको कटारी नगरपालिका मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) ले बताए । सोलु करिडोर विद्युत प्रसारण लाइनको विषयलाई लिएर तालाबन्दी गरेको मेयर श्रेष्ठले बताए ।
एक पटक हैन पटक पटक स्थाीयले उर्जा मन्त्रालय र प्रधानमन्त्री समक्ष मरुवाबासीको समस्याको बारेमा जानकारी गराउँदा पनि सरकार मुअब्जा दिने मनस्थितीमा पुगे पनि मुअब्जा मूल्याकन समितिले कम मूल्याकन गरेकाले समस्या उत्पन्न भएको मेयर श्रेष्ठले बताए ।

कटारी नगरपालिकाले सोलु कोरिडोरको रुटमा पर्ने मरुवा क्षेत्रका १६ घर परिवारलाई उनीहरुले चर्चेको जग्गाको प्रति धुर २ लाख ५० हजारको दरले मुअब्जा दिन सिफारिस गरेको थियो । तर प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिले प्रति धुर १ लाख मात्र दिने निर्णय गरेकाले कुरा नमिलेको मेयर श्रेष्ठको भनाई छ ।

यत जिल्ला प्रमुख अधिकारी तुलसीराम सेढाईले बल प्रयोग गरेर टावर निर्माणको काम अघि बढाउने बताए । उनका अनुसार प्रति कठ्ठा ४ लाख पर्ने जग्गालाई २० लाख मूल्याकन गर्दा पनि अवरोध नहटेपछि वाध्यभएर प्रहरी परिचालन गरेर काम सूचारु गर्न लागेको बताए ।

‘प्रशासनले प्रशारण लाईनको रुटमा पर्ने घर परिवार वाहेक सो क्षेत्रका तार मुनीको जमिनको पनि मुअब्जा दिने निर्णय गरेका छौं ।’ ऐलानी जग्गाको समेत मुअब्जा दिनको लागि तयार हुदाँ समेत स्थानीय सहमतिमा नआएपछि बल प्रयोग बारे घुमाउरो पारामा प्रजिअ सेडाईले भने ‘आफुले बाध्य भएर प्रशारण लाईन आयोजनाको काम गर्न खटिएकाहरुको सुरक्षा गर्नु आफ्नो डिउटी भएकाले प्रहरी परिचालन गरिएको हो ।’

प्रशासन कार्यालयले कानुन बमोजिम काम गर्ने र कानुन विपरित कसैले अवरोध गरे सजायको भागिदार अवरोध गर्ने नै हुने सेढाईको भनाई छ ।

कुल ९० किलोमिटर प्रसारण लाइन मध्ये ४५ किलोमिटरमा डबल सर्किट लाइन (तार) टांग्ने काम समेत सकिएको छ । उक्त प्रसारण लाइन निर्माण भएपछि सोलु र आसपास क्षेत्रका आयोजनाबाट हाल उत्पादित र निर्माणाधीन आयोजनाबाट उत्पादन हुने विद्युत् सोलु, ओखलढुंगा र उदयपुरमा वितरण गरी बाँकी राष्ट्रिय प्रसारण लाइनमा जोडिनेछ ।

विद्युत् प्राधिकरणले सोलु करिडोरमा निर्माणाधीन ३२५ मेगावाट विद्युत् खरिद बिक्री सम्झौता (पिपिए) गरेको छ । २०७२ चैतमा भारतीय कम्पनी मोहन इनर्जीसँग प्राधिकरणले १३२ केभी डबल सर्किट प्रसारण लाइनको ठेक्का सम्झौता गरेको थियो । जिल्लामा उत्पादित विद्युत् बाहिर लैजान १३२ केभी प्रसारण लाइन निर्माण गरिएको भएपनि स्थानीयवासीको अवरोधका कारण समयमा नै सम्पन्न हुन नसकेको हो ।

सिरहाको मिर्चैयाबाट सोलुखुम्बुको तिङ्लासम्म ३०२ वटा टावर निर्माण गर्नुपर्ने भए पनि अहिलेसम्म २९२ वटामात्रै फाउण्डेशनको काम सकिएको आयोजनाले जनाएको छ । उदयपुरको मरुवामा १० वटा टावर निर्माण गर्नुपर्ने भएपनि स्थानीयवासीको अवरोधका कारण काम अगाडि बढेको छैन् । स्थानीयले मुअब्जाको माग गर्दै काम अगाडि बढाउन दिएका छैनन् ।

यस्तै ९० किलोमिटर दूरी रहेको करिडोरमा अहिलेसम्म ६० किलोमिटर तार टाँगिएको छ । बाँकी ३० किलोमिटर सोही अवरोध हुने क्षेत्र भित्रमा पर्छ । सोलुखुम्बुको पत्तालेमा दुई किलोमिटर र बाँकी मरुवामा नै तार टाँग्न बाँकी रहेको आयोजनाले जनाएको छ ।

प्रसारण लाइन क्षेत्रमा मुआब्जा दिनु पर्ने स्थानीयवासीको मागपछि तार तान्ने काम रोकिएको बताइएको छ । स्थानीयवासी र आयोजना बीच कुरा नमिल्दा तीन महिनादेखि निर्माणको काम ठप्प बनेको छ । स्थानीयको विरोधलाई स्थानीय राजनीतक दलले पनि साथ दिएका छन् । तस्विर : अभिमन्यु लामिछाने

तपाईको प्रतिक्रिया