सुखिलाल चौधरी, उदयपुर, मुलुलको सरकारी स्वामित्व रहेको उदयपुर सिमेन्ट उद्योगले शनिबार ९ सय ३० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर फेरी अर्को नयाँ रेकर्ड कायम गरेको छ । सरकारी स्वामित्वको सबैभन्दा ठूलो औद्योगिक प्रतिष्ठान उदयपुर सिमेन्ट उद्योगले आफ्नै रेकडलाई तोडदै ९ सय ३० मेट्रिक टन सिमेन्ट उत्पादन गरेर नयाँ नयाँ किर्तिमान कायम गरेको हो । सिमेन्ट उद्योग मर्मतपछिको यो सवै भन्दा बढी हो ।
जापानिज प्राविधिकहरुले तोकेको दैनिक (२४ घण्टा) ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगले शनिबार ९ सय ३० मेट्रिकटन उत्पादन गरेर नयाँ रेकर्ड कायम गरेको हो । शुक्रबार विहान ६ः०० देखि शनिबार ६ः०० बजेसम्मको उत्पादन परिमाण ९ सय ३० मेट्रिकटन अर्थात पूर्ण क्षमताभन्दा १३० मेट्रिक टन बढी उत्पादन भएको हो ।
यस अघि मंसिर २ गते ९६ दशमलव २६ प्रतिशत अर्थात ७ सय ७० मेट्रिक टन र मंसिर २५ गते १०५ प्रतिशत अर्थात ८ सय ३५ मेट्रिक टन सिमेन्ट उत्पादन गरेको थियो ।
अहिलेसम्मकै सवैभन्दा बढी सिमेन्ट उत्पादन भएपछि मजदुर र कर्मचारी तथा व्यवस्थापन पक्ष खुसी छन् । उद्योगका उत्पादन शाखा प्रमुख संजय कुमार लाल कर्णले यत्ति धेरै उत्पादन देख्दा सिंगो उद्योग परिवार अचम्मित र खुसी भएको बताए । उनका अनुसार २४ घण्टाभित्र २ पटक विद्युत अवरुद्ध हुँदा ३५ मिनेट उत्पादन रोकिए पनि २३ घण्टा २५ मिनटमै १ सय १६ प्रतिशत उत्पादन हुँदा उद्योग परिवार उत्साहित भएको हो ।
‘जापान सरकारले नेपाल सरकारलाई हस्तान्तरण गरेपछि उद्योगको इतिहासमा उदयपुर सिमेन्टले उदाहरणीय कीर्तिमान कायम गरेका छ,’ कर्णले भने । उनका अनुसार पछिल्लो ३ महिनायता पूर्ण क्षमतामा उत्पादन गर्दै आएकामा शनिबार नयाँ कीर्तिमान कायम गरेको बताए । ‘कात्तिकयता उत्पादन बढ्दै आएको हो तर, यत्ति धेरै थिएन’ कर्णले भने ‘क्षमताभन्दा ५–१० प्रतिशत बढी यसअघि पनि थियो, आजको उत्पादनले ११६ प्रतिशत नै कट्यो ।’
२४ घण्टाभित्र २ पटक विद्युत अवरुद्ध हुँदा ३५ मिनेट उत्पादन रोकिए पनि २३ घण्टा २५ मिनटमै १ सय १६ प्रतिशत उत्पादन हुदा उद्योग परिवार उत्साहित भएको हो । उद्योगका कामु नायब महाप्रबन्धक (डिजिएम) ध्रुबबहादुर देवकोटाले ३ महिनाअघि पूर्ण मर्मत र स्तरोन्नति गरिएपछि लगातार उत्पादन बढ्दै गएको जानकारी दिए । असोजमा भारतबाट भिकाइएका ६० जना दक्ष प्राविधिक टोलीले एक महिना भन्दा बढी समय लगाएर स्तरोन्नतिसहितको पूर्ण मर्मत गरेको थियो । त्यसपछि उद्योगले क्षमताभन्दा बढी उत्पादन गर्न थालेको देवकोटाले बताए ।


महाप्रबन्धक सुरेन्द्र कुमार पौडेललाई उद्योगले यत्ति प्रगति गरेकोमा अत्यन्त खुसी लागेको छ । नियुक्ति लिएर आएको सुरु दिनमा उद्योगको अवस्था देखेर झण्डै राजीनामा दिएर भागेको स्मरण गर्दै उनले सबैपक्ष मिलेर काम गर्दा परिणाम सुखद भएको बताए ।
‘जिएम भएर त आइयो तर, उद्योगमा बन्द अवस्थामा पुगेको, सिमेन्ट भर्ने बोरा तीन दिनलाई मात्रै पुग्ने, लाईमस्टोन खानीमै, कोईला र रातोमाटो छैन, यन्त्र उपकरणहरु जताततै बिग्रेका, करोडौं ऋण देखेर अत्यास लाग्यो’ ४ वर्षअघिको अवस्था सम्झदै पौडेलले भने, ‘६ महिनौदेखि कर्मचरीहरुले तलव नपाएर कार्यालय घेर्न आए, झण्डै राजीनामा दिएर फर्के, तर, केही गर्छु भनेर आको छु भनेर इच्छा शक्ति साथ टिम व्यवस्थापन गर्दा सफलता मिल्यो, यो भन्दा खुसी के हुनसक्छ र ?’
महाप्रबन्धक पौडेलले विगतलाई सम्झदै भने ‘यहाँ कार्यरत कर्मचारीको भोको पेट भर्न र बालबालिकाले पढ्ने विद्यालयको शुल्क तिर्ने जोहो गर्न मात्रै भए पनि बन्द उद्योग सञ्चालन गर्नै पर्ने बाध्यता थियो र सोही उद्देश्य पूरा गर्न उद्योग चलाउने निर्णय गरियो ।’
‘ ६ महिनादेखि उद्योगले कर्मचारीको तलबभत्ता खुवाउन सकेको थिएन, जब म आएर उद्योग सञ्चालन गर्ने निर्णय गरे, त्यसपश्चात उत्पादन भयो उनीहरुलाई हातमुख जोर्ने व्यवस्था गर्न थालियो,’ पौडेलले भने, अहिले उद्योगले कर्मचारीको भोको पेट र विद्यालयको शुल्क मात्रै तिरेका छैन, नाफा कमाउन समेत थालेको छ ।
कर्मचारीको पेट भर्नकै लागि सञ्चालन भएको उद्योग अहिले त्यतिमा मात्रै सिमित भएको छैन । बालबालिकाको शुल्क त सहजै तिर्न सक्ने वातावरण बनाएको छ, उत्पादन यही अवस्थामा रह्यो भने चालु आर्थिक वर्षमै अर्ब बढी नाफा हुने पौडेलले बताए । वर्षमा १ महिना मर्मत समय छुट्याए पनि ११ महिनामा ९० हजार मेट्रिकटन हाराहारी सिमेन्ट निस्कने र यसबाट १० अर्ब हाराहारी रकम जम्मा हुने पौडेलको अनुमान छ । उद्योगमा कार्यरत ५ सय मजदुर कर्मचारी र सुरक्षाकर्मीलाई तलव भत्ता, विद्युत महसुल, मर्मत सम्भार कटाएर ३ अर्बभन्दा बढी खुद नाफा हुन सक्ने अनुमान उद्योगले गरेको छ ।

उनले भने, ‘यति मात्र कहाँ हो र ? उद्योगले ३२ वर्षसम्म साधारणसभा नै गरेका थिए, १४ वर्षको लेखापरीक्षण गर्न बाँकी रहेको थियो ।’ जिएम पौडेलले वितगलाई सम्झदै भने, ‘हामीले एकैपटकमा १९ वर्षसम्मको साधारणसभा सम्पन्न गर्यौं, तर अझै पनि १३ वर्षको साधारणसभा गर्न बाँकी छ । यो पनि यस वर्ष सकिन्छ । जहाँसम्म लेखापरीक्षणको कुरा छ, १४ वर्षको लेखापरीक्षण गर्न बाँकी रहनुलाई १२ वर्षसम्मको लेखा परीक्षण सम्पन्न भएको रूपमा बुझ्नुपर्छ ।’
२६ वर्षअघि नेपाललाई हस्तान्तरण गरेपछि भने क्रमशः ओरालो लाग्दै गएको उद्योग ४ वर्षअघिसम्म जेन तेन २५० टनसम्म उत्पादन गर्ने गरेको थियो । एसियाकै गुणस्तरीय कहलिएको गैंडा ब्राण्ड उत्पादक उदयपुर सिमेन्ट उद्योग जापान सरकारको सहयोगमा स्थापना भएको हो । दैनिक ८ सय मेट्रिकटन उत्पादन क्षमताको उद्योगबाट जापान आफैले चलाउँदा पनि ७ सय ५० भन्दा बढी गर्न नसकेको उद्योग कर्मचारीहरु बताउँछन् ।
यतिसम्म कि त्यहाँ २०४८ सालदेखि त्यहीँ उद्योगमा काम गर्दै आएका वैदप्रसाद देवले उद्योगले नाफा कमाउँछ भन्ने कल्पनाको त कुरै छाडौं, उद्योग सञ्चालन भएर मासिक तलब समेत खुवाउँछ भन्ने विश्वास गरेका थिएनन रे । उनी भन्छन, ‘यदि कुशल व्यवस्थापन तथा सबैको हौसला पाइयो भने, जे गर्न पनि सकिँदो रहेछ भन्ने, गतिलो प्रमाण हो उदयपुर सिमेन्ट ।’
सकारात्मक सोँचका साथ जिम्मेबार भएर काम गरे उद्योग फस्टाउदो रहेछ भन्ने उदाहरण दिन उद्योग सफल भएको निश्कर्षमा उद्योग प्रतिष्ठानमा कार्यरत युनियन पदाधिकारी पुगेका छन् । दैनिकजसो बिभिन्न माग राखेर आन्दोलन गर्ने, धर्ना बस्ने र नाराजुलुस गर्ने मजदुर कर्मचारी बफादार र जिम्मेबार भएर उद्योग उकास्न रातदिन लागेपछि सफलता मिलेको नेपाल औद्योगिक मजदुर संघ उसिउलि प्रतिष्ठानका केन्द्रीय सदस्य चक्र कार्कीले बताए । अर्का मजदुर नेता स्वतन्त्र मजदुर संगठनका सचिव राधे कोईरालाले ४ वर्षअघि र अहिलेका मजदुरको सोँचमा आकाश पाताल फरक आएको बताए । त्यतिबेला नकारात्मक सोँच राख्ने सबै मजदुर अहिले सकारात्मक भएर उद्योग उकास्ने इच्छाशक्तिसाथ लागि परेको उनले बताए ।

तपाईको प्रतिक्रिया