उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पुलको सल्याप झरेको छ । निर्माणको अन्तिम चरणमा रहेको पुल दुई दिनदेखिको अविरल वर्षापछि शनिबार दिउँसो दक्षिण तर्फको सल्याप झरेको हो ।
सिवाई पट्टीको पहिलो पिल्लर बांगिएको र पुलको दोस्रो सल्याप झरेको पुल हेर्न जिम्मा पाएका गाईघाट दिक्तेल आयोजनाका प्रमुख गोविन्द्र प्रसाद खकुरेलले बताए । ‘ठेकेदार कम्पनीले यो असार महिनाभित्रै निर्माण कार्य सकेर बुझाउँछु भनेको थियो, काम पनि लगभग सकिएको अवस्थामा सल्याप झरेको छ’ उनले भने ।
१२ वटा पिलर र ११ वटा स्लाब रहेकोमा बाढीले पुलको पिलर भासिएपछि एउटा सल्याप नदीमा झरेको छ र अर्को ढल्किएको छ । पुलको उत्तर पट्टीको अन्तिम स्लाब ढलान भएकोले पानी दक्षिाणतर्फ फर्काएको थियो । पानीको बहाव एउटै पिलरमा परेपछि पिलर भासिएको हुन सक्ने आयोजना प्रमुख खकुरेलले बताए । उनका अनुसार पिलर धस्नुको कारण बारे छानविन गरिने बताए ।
२०६७ देखि निर्माण सुरु भएको पुल पटक–पटक म्याद थप गरेर अहिले आएर काम सम्पन्न हुने समयमा पुल बगाएको छ । पुलको निर्माण महालक्ष्मी÷लोकप्रिय जेभी कन्स्ट्रक्सन कलँकी काठमाडौंले गरेको हो भने डिजाइन र माटोको परिक्षण बालाजु काठमाडौं स्वाइल कन्सल्टेन्सी कम्पनी काठमाडौंले गरेको हो ।
सम्झौता गरेको तीन वर्षमा सकिनु पर्ने काम पटक पटक म्याद थप हुँदा १२ वर्ष वित्न लाग्यो पुल हेर्ने आयोजना प्रमुख खकुरेलले बताए । सो पुलमा २५÷ २५ मीटरका १२ स्पान छन् भने दुई स्पान र एक पिलर धसिएको छ । ११ स्पान २ सय ८० मिटर लम्बाइको पुल साढे ५ मिटर इन्टर मिडियट (सवारी सञ्चालन हुने भाग) रहेको छ । पुल हस्तान्तरण नहुँदै झरेकोले यसको सम्पूर्ण दायित्व निर्माण कम्पनीले लिनु पर्ने खकुरेलले बताए ।
विशेष गरेर पानीको सतहमुनि भएको ठूलठूला रूखका कारण ३ वर्षसम्म काममा अवरोध गरेको आयोजना प्रमुख खकुरेलले बताए । ९ करोड ७६ लाख रुपैयाँको लागत इस्टिमेट गरिए पनि मूल्य समायोजनका कारण लागत बढ्न गई ११ करोड २७ लाख रुपैयाँ पुगेको आयोजनाले जनाएको छ । पुल निर्माणमा लापरबाही गरेका करण निर्माण कम्पनी महालक्ष्मी÷लोकप्रिय कन्स्ट्रक्सन जेभीलाई करिब १ करोड जरिवानासमेत तिरेको छ ।
जनप्रतिनिधि विहिन हुँदा कुनै काम भएको थिए जव जनप्रतिनिधि आएपछि काम अगाडी बढेपनि अन्तिम समयमा आएर पुल बगाएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए ।
त्रियुगा खोलाको सामान्य बाढीले धसिएको यो पुल यो वर्षातमा पुरै ढल्न सक्ने खतरा बढेको छ । यो पुल नबन्दा चौदन्डीगढी नगरपालिकावासीहरु त्रियुगा खोलामा डुंगा चलाएर ओहोरदोहर गर्दै आएका थिए । अव पुलको सल्याप नै झरेपछि कहिलेदेखि यातायात संचालन हुने अन्यौलता बढ्यो ।
बाढीले पुलको स्लाब बगाउँदा चौदण्डीगढी नगरपालिका– ५ सिवाईका ४८ वर्षिय अख्तर मियाँ खोलामा खसेर घाइते भएको प्रहरीले जानकारी दिए । उनको अनुहार र खुट्टामा चोट लागेको छ । मियाँ पैदलयात्रा गरेर बेल्टारबाट घर जाँदै गर्दा पुलको स्लाब नदीमा झरेको थियो । स्थानीयले उनको तत्कालै उद्धार गरेका हुन् ।









