उदयपुर । उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधित्व गर्ने निवर्तमान सांसद, पूर्वमन्त्री डा नारायण खड्काले पनि कबुलियत वन गठनको निर्णय तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे । हजारौँ मानिसलाई विस्थापित गराउने यो निर्णय फिर्ता नभए सरकारले त्यसको मूल्य चुकाउनु पर्ने उनको चेतावनी छ ।

निवर्तमान सांसद खड्काले आफ्नो फेसबुक स्टाट्स लेख्दै बेलका नगरपालिकाका प्रमुखको सिफारिमा त्यस नगरपालिका वडा नं. २, ३, ८ र ९ कोशी टप्पु क्षेत्रका हजारौं जनताले विगत ४० वर्ष देखि त्यस क्षेत्रमा बसोबास र वाच्नको लागि जग्गा भोगचलन गर्दै आएको र सो क्षेत्रका करिव १७५ दशमलव २३ हेक्टर क्षेत्रको जग्गालाई कवुलियत वन गठन गर्ने जन विरोधी निर्णय गरेको निवर्तमान सांसद खड्काले आरोप लगाएका छन् ।

सांसद खड्काले लेखेका छन्, “स्थानीय सरकारको सिफारिसमा केपी ओली सरकारको यो जन विरोधी र जनप्रतिनिधिलाई गुमराहमा राखी अपारदर्शी र मनोमानी ढंगवाट गरिएको निर्णय तत्काल फिर्ता लिन तथा जनताको जायज मागमा मेरो पूर्ण समर्थन रहेको छ ।”कोशी टप्पुवासीको आन्दोलनलाई स्थानीय राजनीतिक दलहरूले पनि साथ दिएका छन् । नेपाली कांग्रेसका नगर सभापति सुशील सेढाईंले हजारौँ नागरिकको बिचली गराउने सरकारी निर्णय फिर्ता हुनुपर्ने बताए । माओवादी केन्द्रका नगर अध्यक्ष मनोज तामाङले कबुलियत वन गठनको निर्णय तत्काल फिर्ता नलिए सशक्त आन्दोलन गर्ने चेतावनी दिए ।

बुधबार करिब ३ सयको संख्यामा आएका टप्पुवासीले नगरपालिकामा तोडफोड गरेका थिए । कबुलियत वन गठन गर्ने निर्णय फिर्ता नभए थप कडा संघर्षमा उत्रिने चेतावनी उनीहरूले दिएका छन् । विहिबार  आन्दोलनकारीहरुले कबुलियती वन निर्णय फिर्ता गर्न १० दिनको अल्टिमेटम दिएका छन् । यो अवधिभित्र निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन गर्ने चेतावनी कबुलियती वन फिर्ता संघर्ष समितिका संयोजक नविन राईले बताए ।

तपाईको प्रतिक्रिया