काठमाडौं । सरकारले सरदार भक्ति थापालाई राष्ट्रिय विभूति घोषणा गरेको छ । मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्ने क्रममा नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री वसन्तकुमार नेम्वाङले भक्ति थापालाई राष्ट्रिय विभूतिको सूचीमा समावेश गरिएको जानकारी दिएका हुन् । नेपाल एकीकरणको अभियानको क्रममा देउथलमा अंग्रेज सेनासँग लड्दालड्दै ७३ वर्षीय थापाले वीरगति प्राप्त गरेका थिए । देउथल हाल भारतको उत्तराखण्ड राज्यमा पर्दछ। १९७२ साल वैशाख ६ गते उनको मृत्यु भएको इतिहासमा पढ्न पाइन्छ । अंग्रेज सेनाले साहसी सैनिकको रुपमा सम्मान गर्दै उनको शवलाई पूर्ण सम्मानका साथ फर्काएको थियो ।
लम्जुङमा जन्मिएका भक्ति थापा गोरखासँगको अन्तिम युद्धमा पराजित भै युद्धबन्दीका रूपमा काठमाडौं पुगेको र करीब एक वर्षपछि उनी नेपाली फौजका सरदार भै नेपाल एकीकरण अभियानमा संलग्न भएको बताइन्छ ।
यी हुन् नेपालका राष्ट्रिय विभूतिहरु
गौतम बुद्ध, अंशुवर्मा, सीता, जनक, अरनिको , रामशाह, अमरसिंह थापा, पृथ्वीनारायण शाह, भानुभक्त आचार्य, भीमसेन थापा, बलभद्र कुँवर, श्री ५ त्रिभुवन, मोतीराम भट्ट, शंखधर शाख्वा, पासाङ ल्हामु शेर्पा, महागुरु फाल्गुनन्द, भक्ति थापा









