काठमाडौं । आगामी तीन दिन नेपालको धेरैजस्तो स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको हाल तराई भूभाग नजिक रहेकाले सो क्षेत्र वरपर बढी वर्षा हुने छ । ‘तीन दिनको समग्र अवस्थालाई भन्दा कर्णाली र सुदूरपश्चिम प्रदेशबाहेक अरु स्थानहरुमा भारी वर्षाको सम्भावना छ,’ मौसमविद सजिना शाक्यले भनिन्, ‘धेरै भारी वर्षाको सम्भावना थोरै स्थानमा छ ।’

शाक्यका अनुसार प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ । ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी जारी गर्दै महाशाखाले भनेको छ, ‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वषरको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू(भागमा भू(क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ ।’

महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको सक्रिय प्रभाव छ । अहिले देशभर सामान्यदेखि पूर्ण बदली हुनुका साथै प्रदेश १, २ बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

शुक्रबार दिउँसोसम्म प्रदेश, १ प्रदेश २, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको र शुक्रबार राति भने कर्णाली प्रदेशमा पनि यस्तो सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया