उदयपुर । उदयपुरको कटारी नगरपालिकालाई टुक्राउने प्रस्ताव कार्यपालिकाको बैठकबाट पास भएको छ । कटारी नगरपालिकाको माथिल्लो भेगका पाँच वटा वडाका स्थानीयहरुले छुट्टै गाउँपालिकाका बनाउने माग गर्दै मंगलबार ज्ञापन पत्र बुझाएको छ ।
गाउँपालिका माग सहजिकरण समितिका संयोजक अम्बर बहादुर मगर हस्ताक्षरित ज्ञापन पत्र नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ र उपमेयर भिमकुमारी राउतलाई बुझाईएको थियो । कटारी नगरपालिकामा रहेका १४ वटा वडा माध्येबाट वडा नं. ९, १०, ११, १३ र १४ लाई टुक्राएर छुट्टै गाउँपालिका बनाउन नगर कार्यपालिकाको बैठकले समेत स्वीकृत गरेको छ ।

भौगोलिक हिसाबले विकट, छरिएर रहेका बस्तीहरुले गर्दा विकास निर्माण तथा सेवा सुविधामा नागरिकलाई सहज रूपमा सेवा प्रवाह गर्न समस्या भइरहेकोले छुट्टै पालिका बनाउन माग गरेको छ । कटारी नगरपालिकाका वडा नं. ९, १०, ११, १३ र १४ का नागरिकहरुको सहजताका लागि नगरपालिकालाई टुक्र्याएर छुट्टै गाउँपालिका बनाउन स्थानीयहरुले माग गरेको छ ।
नगरबाट वितरण गरिने विभिन्न सेवा सुविधाहरु भौगोलिक विकटता, दिर्घकालिन र स्थायी पूर्वधारको अभावमा साथै दुरीको हिसाबले नगरपालिकाको माथिल्लो भुगोलका नगरवासीहरुले सुविधाहरुलाई सहज रुपमा प्राप्त गर्न कठिन रहेको भन्दै नजिकिदै गरेको नगर सभाले सम्बोधन गरी सम्बन्धित निकायमा पत्रचार गर्न कटारी नगरपालिका वडा नं. ९ का स्थानीय बासु घिमिरेले बताए । उनका अनुसार माथिल्लो पाँच वटा वडाहरुलाई छुट्टै गाउँपालिका निर्माण गर्दा करिव १२५ दशमलव ७९ वर्ग किलोमिटर क्षेत्रफलमा करिब १८ हजार ५८६ जनसंख्यालाई सेवा सुविधाको सहजतामा पहुँच पुग्ने भएकोले बताए ।

अनुरोध पत्रमा कटारी नगरपालिकालाई पनि नगरपालिका रहिरहनका लागि कुनै असर नपुग्ने भएकोले गाउँपालिकाको निर्माणको मापडण्डको आधारमा भुगोल, जनसंख्या र भौतिक पूर्वाधारहरु पनि पुग्ने भएकोले संविधानको धारा २९५ को विभिन्न दफाहरुमा समेत सो कुरा उल्लेख भए अनुसार गाउँपालिका निर्माण गर्ने सकिने व्यस्था रहेकोले पाँच वटा वडालाई नगरपालिकाबाट छुटिएर गाउँपालिकामा प्रस्ताव गर्न माग गरेको छ । अनुरोध पत्रमा पाँच वडाहरुलाई छुट्टै गाउँपालिका निर्माणको लागि नगर सभाले सर्वसहमतबाट निर्णय गरि सम्बन्धित निकायमा सिफारिस गरिदिन आग्रह गर्दैै आवश्यक कागजात सहित ज्ञापन पत्र बुझाईएको समितिले जनाएको छ ।

कटारी नगरपालिका पूर्वमा उदयपुरगढी र ताप्ली गाउँपालिका, पश्चिममा सिन्धुलीको दुधौली नगरपालिका र फिक्कल गाउँपालिका, उत्तरमा ओखलढुंगाको मानेभञ्याङ र खोटाङको हलेसी तुवाचा नगरपालिका र दक्षिणमा सिराहाको मिचैया, गोलबजार, कर्जन्हा नगरपालिका भित्र कटारी नगरपालिका अवस्थित छ । यस नगरपालिका भित्र तल्लो भेग १११ देखि माथिल्लो भेग १०४ मिटरको उचाईमा ४२४ दशमलव ९ वर्ग किलोमिटर क्षेत्रमा बसोवास गर्ने कुल जनसंख्या ५६ हजार १४६ रहेको छ ।

छुट्टै गाउँपालिका बनाउने प्रस्ताव कटारी नगरपालिकाको नगर कार्यपालिकाले स्वीकृत गर्दै नगर सभामा पेश गर्ने कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले बताए । मेयर श्रेष्ठले भने, “माथिल्लो भेगका पाँच वटा वडाको प्रस्तावलाई नगर सभाले अनुमोदन गरेर जिल्ला समन्वय समिति, प्रदेश हुँदै केन्द्र पठाउने छौं । यसमा नगरपालिकाको पनि पूर्ण साथ हुनेछ ।”

कटारी नगरपालिकाको माथिल्लो भेग बास्तवमा अतिदुर्गम, भौगोलिक कठिनाईको मार परेकोले छुट्टै गाउँपालिका बनाउन मेयरको पनि एक्यवद्धता रहेको मेयर श्रेष्ठले बताए । समृद्ध नगरपालिकाको परिकल्पना गर्न पाँच वटा वडालाई छुट्टै गाउँपालिका बनाए नगरपालिकाको कुनै आपति नहुने मेयर श्रेष्ठले जनाएको छ । ‘कार्यापालिकाको वैठकमा यो विषय पेश गर्छु ’ मेयर श्रेष्ठले भने –‘कार्यापालिकाको वैठकमा जनप्रतिनिधिहरुबाट यो विषय सर्वसहमत पास गर्न छलफल राख्छु ।’ जिल्ला समन्वय समिति, प्रदेश सरकार र केन्द्र सरकारसम्म एउटा टोली बनाएर गाउँपालिका निर्माण्का लागि डेलिगेसन जाने प्रतिवद्धता समेत मेयर श्रेष्ठले जनाए ।

सहजिकरण समितिका संयोजक मगरले माथिल्लो वडाहरुका जनप्रनिधिदेखि स्थानीय सम्मले छुट्टै गाउँपालिका निर्माणका लागि यस अघि नै प्रकृया थालेको भएपनि निषेधाज्ञाका कारण समस्या भएकाले अहिले ज्ञापन पत्र बुझाएको बताए । नगरवासी हुँदा गर्व भएपनि भौगोलिक कारणले जहिले पनि समस्या भोग्नु परेकाले गाउँपालिकाको आवश्यकता रहेको बताए । ‘नगरपालिकाले चाहाँदा चाहाँदै पनि भौगोलिक विकटता कारण समस्या छ ।’ उनले भने –‘त्यसकारण जनप्रतिधि, राजनीतिक दल, सरोकारवालाहरु र स्थानीयले छुट्टै गाउँपालिका माग गरेका हौं ।’

उक्त वडाहरुलाई छुट्टै गाउँपालिका निर्माणका लागि राज्य पुर्नसंरचनाका समयमा पनि आन्दोलन गरेको स्मरण गराउँदै वडा नम्बर ११ का वडाध्यक्ष दिपक बुढाक्षेत्रीले छुट्टै गाउँपालिका अति आवश्यक रहेको बताए । विगतमा पनि आन्दोलनको नेतृत्व गरेका वडाध्यक्ष क्षेत्रीले त्यतिवेला आन्दोलनले वडाको संरचना निर्माणमा सहमति जनाए पनि गाउँपालिका निर्माण गर्न नसके पनि हाल व्यवहारगत रुपमा काम गर्न पनि गाउँपालिका आवश्यक रहेको वडाध्यक्ष क्षेत्रले बताए ।

तपाईको प्रतिक्रिया