उदयपुर/मान्यजनको हातबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरी आज शुक्रबार वडा दशैं मनाइँदैछ । दुर्गापूजा गरी जमरा राखिएका दशैँघरमा बिहान सबेरै अपराजिता, जया, विजयाको पूजासहित देवी विर्सजन गरी घरका मान्यजनबाट टीका लगाउन लागिएको हो । आश्विन शुक्ल प्रतिपदामा घटस्थापना गरी नवरात्रभर शक्तिस्वरूपा भगवतीको आराधना गरी दशमीको बिहान विर्सजन गरिन्छ । देवीको आवाहन गरी नौ दिनसम्म देवीको पूजा गरेको कलशको जलले अभिषेक गर्ने र प्रसादस्वप टीका र जमरा मान्यजनका हातबाट लगाउने चलन छ । देवीभागवत पुराणअनुसार त्रेतायुगमा भगवान् रामले नवरात्रमा देवीको आराधना गरी रावणमाथि विजय प्राप्त गरेको बताइन्छ । पहिलेपहिले राजा महाराजाहरू दशमीका दिन देवीको प्रसाद लगाई विजययात्रामा निस्किने चलन रहेको बताइन्छ । टीकाको साइत ९ः५१ मा नेपालमा पञ्चांग निर्णायक समितिले विजयादशमीको टीकाको साइत बिहान ९ बजेर ५१ मिनेटमा रहेको जानकारी दिएको छ । यसअघि बिहान ९ बजेर ३९ मिनेटमा देवी विसर्जनको साइत निकालिएको समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए । ‘साइत खोज्नेका लागि समय दिइएको हो’, उनले भने, ‘विजयादशमीको दिन आफैँमा साइत भएकाले दिनभर टीका लगाउन सकिन्छ ।’ आश्विन शुक्ल पक्षका १० दिन नेपाल र नेपाली मूलका हिन्दुहरू रहेका स्थानमा दशैँ र भारतमा दशहरा वा दुर्गापूजा नामले परिचित छ । भारतीयले दशमीको दिन विसर्जन गरी घडा नदीमा सेलाउँछन् । नेपाली मूलका धेरैजसो हिन्दुहरूले भने पूर्णिमासम्म टीका प्रसाद लगाउँछन् । कोजाग्रत पूर्णिमाका दिन विसर्जन गर्छन् । वैदिकहरूले लगाए बिहीबार नै वैदिक कालगणनाका पक्षधरहरूले बिहीबार नै विजयादशमी मनाएका छन् । तिथि अहोरात्रात्मक हुने टुटफुट नहुने भन्दै पञ्चांग निर्णायक समितिको पात्रोले उल्लेख गरेभन्दा एक दिनअघि दशमीको टीका लगाउन सकिन्छ । चल्तीका पञ्चांगहरूले असोज २३ गते औँसी लेखेका थिए । औँसी श्राद्ध भने अघिल्लै दिन उल्लेख थियो । २३ गते नै प्रतिपदा लाग्ने भए पनि २४ गते घटस्थापना बताइएको थियो । वैदिक कालगणनाका अनुयायीले २३ गते घटस्थापना गरेका थिए । त्यसैले बिहीबार नै विजयादशमी मनाएको थियो ।

तपाईको प्रतिक्रिया