उदयपुर । इन्टरनेट सेवा अवरुद्ध हुँदा उदयपुरगढी गाउँपालिकाको कामकाज अवरुद्ध भएका छन् । शनिबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु नहुँदा उपभोक्ता मारमा परेका हुन् ।
आइतबारमा पनि दिनैभरी इन्टरनेट सेवा अवरुद्ध हुँदा गाउँपालिकाको कामकाज ठप्प भएको उदयपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव सुवेदीले जानकारी दिए । अहिले आर्थिक वर्षको नजिक नजिक भएपछि अनिवार्य इन्टरनेट सेवा चाहिन्छ । कोरोनाको कारण अवरुद्ध सेवाहरु संचालन गरेपनि इन्टरनेट सेवा अवरुद्ध हुँदा केही अतिआवश्यक कामकाज तथा चेक भुप्तानी पनि अवरुद्ध हुन पुगेको अधिकृत सुवेदीले जानकारी दिए ।

उदयपुरगढी वरिपरि मात्र नभई रौतामाई गाउँपालिकामा समेत इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध भएको छ । आइतबार उदयपुरगढी वरिपरि टेलिफोन सेवा अवरुद्ध हुँदा फोनमा पनि कुरा नबुझिने, आवाज स्पष्ट नआउने समस्या रहेको स्थानीय श्याम मगर बताउँछन् । प्रायः हावाहुरी चलेपछि टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदै आएको छ ।

नेपाल टेलिकम उदयपुरगढीमा रहेको रिपिटर टावरमा समस्या आएकाले सेवा अवरुद्ध भएको वा अन्य कुनै कारणले सेवा अवरुद्ध भएको त्यसबारे जानकारी दिने काम भईरहेको नेपाल टेलिकम शाखा गाईघाटका प्रमुख धमेन्द्र यादवले जनाएको छ । हेटौडा वा केन्द्रीय कार्यालयमा पनि समस्या हुँदा उदयपुरगढी, रौतामाई गाउँपालिका लगायतको ठाउँमा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुन पुग्ने गरेको प्रमुख यादवले जानकारी दिए ।

नेपाल टेलिकमको उदयपुरगढीको रिपिटर टावरमा समस्या भएमा सोमबार विहान मर्मतको लागि प्राविधिक पठाउने प्रमुख यादवले जानकारी दिए ।

तपाईको प्रतिक्रिया