उदयपुर, मूलधार महिला सेवा केन्द्र (मासवेस) उदयपुरको गौरवमय १५ औं वार्षिक उत्सव तथा साधारणसभा बुधबार सम्पन्न भएको छ । ‘सहन नपरोस हिंसा र दुव्र्यवहार, स्वास्थ्य र शिक्षालाई बनाऔं चेलीबेटी सशक्तिकरणको हतियार ।’ भन्ने मूलनारासाथ मासवेसको आफ्नै कार्यालयमा १५ औं वार्षिक उत्सव तथा साधारण सभा सम्पन्न भएको हो ।
साधारण सभाको उद्घाटन गर्दै त्रियुगा नगरपालिकाका उपमेयर देवी कुमारी चौधरीले मासवेसले उठाएको महिलाको मुद्धा र लैङ्गिक समानताको पूर्ण समर्थन गर्दै आगामी दिनमा संस्थाले अझ सशक्त अभियान चलाउन शुभकामना दिएका थिए । उनले संस्थाले सुरुवात गरेको ‘प्रथम राष्ट्रिय बेटी सम्मेलनलाई सफल बनाउन नगरकार्यपालिकाको बैठकमा उठान गर्ने बताएकी थिईन । उनले स्थानीय निकायहरुमा सेनेटरी प्याडलाई निःशुल्क वितरण गर्न व्यवस्थापनका लागि सर्वपक्षिय छलफल गरी कार्यान्वयन गर्न प्रतिवद्धता व्यक्त गरेका थिए ।
यस्तै संघिय समाजवादी फोरमका केन्द्रिय सदस्य रामप्रसाद रिजालले महिलाहरुलाई हरेक क्षेत्रमा पूर्ण समानुपातिकको ग्यारेन्टी गर्नु पर्ने बताए । उनले महिलाहरुलाई राष्ट्रप्रमुख देखि प्रधानमन्त्रीसम्म मुख्य नेतृत्व दिनु पर्नेमा जोड दिए । महिलाको जनसंख्या ५१ प्रतिशत भएकोले देशको हरेक क्षेत्रमा ५१ प्रतिशतको ग्यारेन्टी गर्नु पर्ने समेत बताए । उनले मासवेस संस्थालाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म लैजानु पर्ने शुभकामना समेत दिए ।
यस्तै वार्षिक उत्सव तथा साधारण सभालाई गैसस उदयपुरका कार्यवाहाक अध्यक्ष मा सुमन परियार, सरस्वती महतरा, प्रवक्ता सरिता राई लगायतले सफलताको शुभकामना दिएका थिए ।
संस्थाका अध्यक्ष नजवुल खानको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन सचिव रोजिना राई र स्वागत मन्तव्य संस्थाका कोषाध्यक्ष सानु चौधरीले गरेकी थिईन् ।









