उदयपुर । “नयाँ सोच र सृजना, प्राकृतिक प्रणालीको पुर्नस्थापना” नाराका साथ विश्व वातावरण दिवस शनिबार उदयपुरमा वृक्षारोपण गरेर मनाएका छन् । कोभिड–१९ संक्रमणका कारण यो दिवसमा विगतमा जस्तो तामझामका कार्यक्रम नभए पनि डिभिजन वन कार्यालय गाईघाटको सहयोगमा ५ सय विरुवा वृक्षारोपण गरेर मनाएको हो ।चौदण्डीगढी नगरपालिका १० खैराझोराको त्रियुगा नदी उकास जग्गामा महाभारत सामुदायिक वन उपभोक्ता समूहको सहकार्य र डिभिजन वन कार्यालय गाईघाटको प्राविधिक र विरुवा सहयोगमा एक सय बढी विरुवा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय उदयपुरका सहायक वन अधिकृत तथा सूचना अधिकारी जागेश्वर साहले जानकारी दिए ।

यस्तै त्रियुगा नगरपालिका ३ स्थित शान्ति धाम परिषरमा उदयपर जेसीसको सहकार्यमा दुई सय ५० वटा विरुवा वृक्षारोपण गरिएको छ । शान्तिधाममा सिमल, बेल, हर्राे, बर्राे अमला, शनि, निम, रिठ्ठा लगायत दुई सय ५० वटा विरुवा वृक्षारोपण गरिएको थियो ।

त्रियुगा नगरपालिका ५ स्थित खयरजोडी खोलाको उकास जग्गामा चौतारी युवा समूहको सहकार्यमा ५ सय विरुवा लगाउने उद्देश्य अनुरुप वातावरण दिवसको दिन ५० वटा विरुवा वृक्षारोपण गरिएको छ । चौतारी युवा समूहले जेष्ठ नागरिकबाट वृक्षारोपणको शुरुवात गरेको थियो । रोप्न बाँकी ४५० वटा विरुवा मध्ये दुई सय मसला काठ र दुई सय टिकको विरुवा र ५० वटा फलफुलको विरुवा लगाउने समूहले जनाएको छ ।

तपाईको प्रतिक्रिया