काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारीको सम्बन्धमा अपुष्ट भाषण नगर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत सबैलाई अनुरोध गरेको छ ।

मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्राचार गरी सार्वजनिक अभिव्यक्ति दिँदा संयमता अपनाउन प्रधानमन्त्रीलाई समेत सचेत गराएको हो ।

बेसार पानी र हामीले भान्सामा प्रयोग गर्ने मसला नै कोरोनाको अचुक औषधी भएको समेत बताउन भ्याएका ओलीले केहीअघिसम्म कोरोनालाई निस्तेज बनाउन तातो पानीले हात धुनमात्र सुझाएनन्, हाछ्यूँ गरेर कोरोना उडाउनु पर्ने ‘मनगढन्ते’ अभिव्यक्ति पनि दिए । प्रधानमन्त्रीको बेसार पानी खाएर, हाछ्यँ–साछ्ँयू गरेर कोरोना भगाउनु पर्छ भन्ने भनाइहरुको अहिले पनि चर्चा जारी नै छ । यस्तै अम्बाको पात खाए कोरोना ठीक भैहाल्ने समेत बताउन भ्याएका थिए ।

मन्त्रालयको हिजो बसेको बैठकले आमसञ्चार माध्यममा बोल्दा वा टिप्पणी गर्दा जनस्वास्थ्यसम्बन्धी अनाधिकृत सूचना तथा जानकारी नदिन आग्रह गरेको छ । मन्त्रालयले त्यस्ता सूचना र जानकारीले आमजनतामा द्विविधा तथा भ्रम उत्पन्न हुने बताउँदै उक्त कार्य नगर्न अनुरोध गरेको हो ।

मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलद्वारा जारी पत्रमा महामारीलगायत समग्र जनस्वास्थ्यको पक्षमा विभागीय मन्त्री वा मन्त्रालयले तोकेका पदाधिकारी र निकायबाहेकले आधिकारिक पुष्टि नगर्न अनुरोध गरिएको छ । जारी पत्रमा अनाधिकृत रुपमा सूचना प्रकाशन प्रसारण नगर्न समेत भनिएको छ ।

तपाईको प्रतिक्रिया