काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले गणतन्त्र स्थापना गर्न योगदान दिने शहीद र योद्धाहरु सम्झिएका छन् । गणतन्त्र दिवसको शुभकामना दिंदै गौतमले शहीदको सपना साकार पार्न दृढतापूर्वक उभिन आह्वान समेत गरेका छन् ।गौतमले फेसबुक स्टाट्स लेख्दै गणतन्त्र ल्याउन योगदान दिने नेताहरुको नाम समेत उल्लेख गरेका छन् । नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई गणतन्त्र स्थापनाका महानायकको संज्ञा दिएका छन् ।

गौतमले लेखेका छन्, ‘२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याइपुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेसका पार्टी सभापति गिरिजाप्रसाद कोइराला, नेकपा एमालेका महासचिव माधवकुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड हुनुहुन्थ्यो । उहाँहरु मध्ये गिरिजाप्रसाद कोइराला हामी बीच हुनुहुन्न । अरु दुई जना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ ।’

गौतमले त्यसबेला गणतन्त्रको विपक्षमा उभिने एमालेकै नेताहरु समेत सम्झिएका छन् । ‘विडम्बना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको बहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य तीन नेता विरुद्धमा हुनुहुन्थ्यो । त्यो बैठकमा अब संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएँ’, गौतमले लेखेका छन् ।

एमालेले गणतन्त्रको पक्षमा निर्णय गर्दा वर्तमान पार्टी अध्यक्ष केपी शर्मा ओली विपक्षमा उभिएको भनेर आलोचना हुने गरेको छ । गौतमले पनि गणतन्त्र दिवसकै दिन त्यो घटना सम्झिएका छन् ।

गणतन्त्र विपक्षमा उभिएकाहरुको नाम भने गौतमले उल्लेख गरेका छैनन् ।

गणतन्त्र दिवस जिन्दावाद !

आज १४औं गणतन्त्र दिवस हो। यस अवसरमा सवै शहीद र अग्रज नेताहरुलाई श्रद्धान्जली र सम्मान प्रकट गर्दै शहीदको सपना साकार पार्न नेपाली जनतालाई दृढतापूर्वक अगाड़ी बढ्न आह्वान गर्दछु। नेपालमा राजतन्त्रको अन्त्य गर्दै गणतन्त्र घोषणाको पृष्ठभूमिमा हजारौ नेता कार्यकर्ता तथा अन्य नेपाली जनताको शहादत, त्याग तपस्या र समर्पण रहेको सर्वविदितै छ। तर वि. स.२०६५ जेठ १५ गतेको अवस्थामा नेपाललाई ल्याई पुर्याउने युगान्तकारी संघर्षका महानायकहरु भने नेपाली कांग्रेस पार्टीका सभापति गिरिजा प्रसाद कोइराला , नेकपा एमालेका महासचिव माधव कुमार नेपाल र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड हुनुहुन्थ्यो। उहाँहरु मध्ये गिरिजा प्रसाद कोइराला हामी वीच हुनुहुन्न अरु दुइजना भने नेपाली राजनीतिमा सक्रिय नै हुनुहुन्छ। विडम्वना नै भन्नुपर्छ नेकपा एमालेको केन्द्रीय कमिटीको वहुमतले तत्कालीन संघर्षको मुख्य नारा राजतन्त्रको अन्त्य र गणतन्त्र स्थापना तय गर्दा चर्चित झापा संघर्षका विभिन्न पार्टीमा रहेका मुख्य ३ नेता विरुद्धमा हुनुहुन्थ्यो। त्यो वैठकमा अव संघर्षको मुख्य नारा गणतन्त्रको स्थापना हुनुपर्छ भनेर लिखित प्रस्ताव राख्ने व्यक्ति म थिएं।

वामदेव गौतम

उपाध्यक्ष नेकपा (एमाले)

संयोजक पार्टी एकता राष्ट्रीय अभियान

१५ जेठ २०७८ गणतन्त्र दिवस

तपाईको प्रतिक्रिया