उदयपुर । नयाँ भेरियन्टको कोरोना भाइरसको संक्रमणले छिमेकी पालिकाहरु पनि आक्रान्त हुन थालेपछि उदयपुरको ताप्ली गाउँपालिकाले स्वास्थ्य सेवा बाहेक अन्य सम्पूर्ण सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।
मंगलबार एक सूचना जारी गर्दै अतिआवश्यक (स्वास्थ्य) सेवा बाहेक सम्पूर्ण नियमित सेवाहरु अर्को सूचना जारी नहुन्जेलसम्मको लागि बन्द गर्ने निर्णय गरिएको प्रमुख प्रशासकिय अधिकृत रामचन्द्र लामाले जानकारी दिए ।
छिमेकी पालिकामा कोरोना संक्रमण देखिएकोले यस पालिकाको स्थानीय जनतालाई कोरोना संक्रमणबाट बचाउन गाउँपालिका र गाउँपालिका मताहतका सेवाहरु अर्को सूचना जारी नहुन्जेलसम्मका लागि बन्द गरिएको अधिकृत लामाले जानकारी दिए । ताप्ली गाउँपालिकाको वडा नं. ४ सँग जोडिएको छिमेकी पालिकामा कोरोना देखिएपछि सेवा बन्द गरिएको छ ।
गाउँपालिकामा कसैलाई कोरोनाको लक्षण देखिएमा स्वास्थ्यकर्मी सहित एम्बुलेन्स तयारी अवस्थामा रहेको छ । अहिलेसम्म लक्षण भए जस्तो देखिएको ४८ जनाको चेकजाँच गर्दा सवैको रिजल्ट नेगेटिभ नै आएको प्रमुख प्रशासकीय अधिकृत लामाले जानकारी दिए । उनले भने, ‘स्वाथ्यकर्मी सहित हामी र हाम्रो टिम २४ सैं घण्टा तमतयारीमा रहेका छौं ।’









