उदयपुर । उदयपुरका कोरोना संक्रमणबाट तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र दुई पुरुष रहेका छन् ।

कृषि ज्ञान केन्द्र उदयपुरका ३४ वर्षिय कृषि प्रसार अधिकृत टिचिङ हस्पिटल काठमाडौंमा मृत्यु भएको छ । उनलाई बैशाख २१ गते श्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना भएका थिए । उनको श्रीमति डेलिभरी हुनेभएपछि बैशाख ११ देखि १८ गतेसम्मका लागि विदा लिएको कृषि ज्ञान केन्द्रका एक कर्मचारीले जानकारी दिए ।

कृषि ज्ञान केन्द्र उदयपुरका ७ जनामा कोरोना संक्रमण देखिएको मध्ये कृषि प्रसार अधिकृतको कोरोनाबाट मृत्यु भएको जिल्ला प्रशासन कार्यालय उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले जानकारी दिए ।

यस्तै त्रियुगा नगरपालिका ४ का अन्दाजी ५४ वर्षिय महिलाको पनि उपचारको क्रममा कोशी अस्पताल विराटनगरमा मृत्यु भएको छ । श्रीमान् श्रीमति विरामी भएपछि उपचारको लागि देउरी स्वास्थ्य चौकीमा जचाउँदा कोरोना लक्षण जस्तो देखेपछि विराटनगरमा चेकजाँच गरेको थियो । चेकजाँच गरेको ४ दिनपछि उपचारकै क्रममा श्रीमतिको मृत्यु भयो भने श्रीमान्को सुधार हुँदै आएको त्रियुगा नगर स्वास्थ्य प्रमुख अवधनारायण चौधरीले जानकारी दिए ।

यस्तै त्रियुगा नगरपालिका ८ का एक अन्दाजी ५३ वर्षिय मेडिकल संचालक पनि कोरोनाबाट मृत्यु भएको छ । उनको नोवेल टिचिङ हस्पिटल विराटनगरमा मृत्यु भएको हो । उनलाई बैशाख २३ गते कोरोना देखिएको त्रियुगा नगरपालिका ८ का वडाध्यक्ष कमलकुमार राउतले जानकारी दिए ।

उदयपुरमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या सात पुगेको छ भने दुई सय ३९ जनामा कोरोना संक्रमण भएको छ ।

तपाईको प्रतिक्रिया