उदयपुर । उदयपुरमा बाढीले बगाउँदा एक जनाको मृत्यु भएको छ । माघ २८ गतेदेखि फागुन १ गतेसम्म परेको अविरल वर्षात्ले त्रियुगा नगरपालिका ६ मा एक जनाको मृत्यु भएको छ । प्रहरी कार्यालय उदयपुरका अनुसार त्रियुगा नगरपालिका ६ का नदीहरुमा आएको बाढीले १५ वर्षिय सुनोज रानाभाटको पानीमा डुबेर मृत्यु भएको हो । घाइतेहरुलाई नेपाल सशस्त्र प्रहरी टोली गोता खोर टोलीले पानीमा डुब्दै गरेको अवस्थामा फेला पारेको थियो ।
सोही वडामा बाढीले बगाउँदा चार जना घाइते भएका छन् । घाइते हुनेहरुमा त्रियुगा नगरपालिका ६ का ३५ वर्षिय अविनास शर्मा, ३० वर्षिय राम कार्की, ४५ वर्षिय निरज थापा र ३९ वर्षिय रमेश यादव रहेको छ । उनीहरुलाई नेपाल सशस्त्र प्रहरी त्रियुगा गुल्म बोक्सेले उद्धार गरेको थियो । उद्धारको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, एम्बुलेन्स लगायत सवारी साधन ओहोरदोहोर गरिरहेको थियो । उद्धार गरिएकोलाई नेपाल रेडक्रस शाखा उदयपुरको टोलीले प्राथमिक उपचार पछि जिल्ला अस्पताल पुर्याएको छ । जिल्ला अस्पताल उदयपुर पुर्याएका मध्ये अविनासको अवस्था गम्भिर रहेको थप उपचारको लागि विराटनगर रेफर गरिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । यस्तै सुनोजलाई अस्पताल पुर्याएपछि मृत्यु घोषित गरेको थियो भने घाइते तीन जनाको उपचार पछि घर फर्किएको छ ।
वर्षातले तीन दर्जन बढी घर पनि बगाएको छ । अहिले अधिकांश भाग जलमग्न छ भने महिला, बालबालिका, वृद्ध वृद्धा, सुत्केरी, गर्भवती, अपाङ्गहरु वर्षातले बढी प्रभावित भएको थियो । यस्तै अविरल वर्षातले एक दर्जन घर बाढीले बगाएको त्रियुगा नगरपालिका ६ का वडाध्यक्ष निर्मल कुमार चौधरीले जानकारी दिए । उनका अनुसार बाढीले थप घरहरुमा पानी जमेकोले क्षतिको तथ्याङ्क आई नपुगेको बताए । यस्तै बाढीले विस्थापितहरुको लागि नेपाल रेडक्रस शाखा उदयपुरले सुरक्षित स्थानमा राखिएको छ भने त्रियुगा उद्योग वाणिज्य संघको तर्फबाट उनीहरुलाई राहत उपलब्ध गराईएको छ ।
यस्तै एक दर्जन बढी बाढीबाट पीडितहरु त्रियुगा नगरपालिका ६ वडा कार्यालय हुँदै त्रियुगा नगरपालिकाको कार्यालय घेराउ गर्न पुगेका थिए । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी, उपमेयर देवी कुमारी चौधरी, नगर विपद व्यवस्थापन समिति संयोजक सुभाष निरौला लगायत वडाध्यक्षहरु कार्यपालिकाको बैठक बसी राहत तत्कालै २ लाखको राहत प्याकेज घोषणा गरेको थियो । घोषणा लगतै मेयर, उपमेयर, नगर विपद व्यवस्थापनको टोली घटना स्थल निरीक्षणमा निस्केका थिए । बाढी पहिरोको क्षति बारे अनुगमन गरेर थप सहयोग गर्ने उपमेयर देवी कुमारी चौधरीले जानकारी दिए ।
यस्तै पीडितहरुले त्रियुगा नगरपालिकाले गरेको सहयोगमा चित्त नबुझदा जिल्ला प्रशासन कार्यालय उदयपुर पनि घेराउ गर्न पुगेका थिए । पीडितहरुका अनुसार भए भरको घर खेतबारी खोलाले बगाएको छ भने खानको लागि एक पाउ चामल पनि नरहेकोले सहयोगको आचनाको लागि जिल्ला प्रशासन कार्यालय आएको पीडित मनकुमार सदाले बताए । उनीहरुका अनुसार उद्योग वाणिज्य संघ र त्रियुगा नगरपालिकाले उपलब्ध गराएको राहत कम भएको भन्दै थप राहत पाउनु पर्ने बताए ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी विनोद कुमार पोखरेलले क्षतिको बारे यकिन गरि राहत वितरण गर्ने जानकारी दिए । उनका अनुसार बाढी पहिरोको क्षतिबारे प्रदेश, केन्द्रीय सरकारले जानकारी गराई सकेकोले थप सहयोग गर्न सकिने बताए । अहिले उदयपुरको अधिकांश भुभाग जलमग्न छ ।
थप सुरक्षाको लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना पनि परिचालन गरिएको विपद् व्यवस्थापन समिति उदयपुरले जनाएको छ ।
माथिका घटनाहरु वास्तविक नभएर काल्पनिक हुन् । बाढी, सर्पदंश, आगलागी र सडक दुर्घटनामा आधारित जिल्ला स्तरीय कृतिम घटना अभ्यास कार्यक्रमको परिघटना मात्रै हुन् । जिल्ला व्यवस्थापन समिति उदयपुरको आयोजना, त्रियुगा नगरपालिकाको सहयोग र नेपाल रेडक्रस सोसाइटी उदयपुरको प्राविधिक सहयोगमा जिल्ला स्तरीय कृतिम घटना अभ्यास कार्यक्रम त्रियुगा नगरपालिका ६ देउरीको सिमेन्ट फ्याक्टरीको फिल्डमा आयोजना सम्पन्न भएको छ ।









