उदयपुर । उदयपुर सदरमुकामका एक पूर्व शिक्षक शनिबार विहान आफ्नै घरमा मृत भेटिएपछि तालिम प्राप्त कुकुर परिचालन गरिएको छ । त्रियुगा नगरपालिका ११ शिवालयटोलका ६५ वर्षीय वीरे
न्द्र राई घरको दोस्रो तलामा मृत भेटिएका हुन भने उनकै श्रीमती ५२ वर्षीया रीता राई गम्भीर घाईते अवस्थामा भेटिएकी छिन् ।
प्रहरीले घटनालाई गम्भीरताका साथ लिएर सुक्ष्म ढंगले अध्ययन सुरु गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी भिमबहादुर दाहालले जानकारी दिए । घटना शंकास्पद भएकै कारण तालिम प्राप्त कुकुर परिचालन गरिएको दाहालले जानकारी दिए ।
घटना स्थलमा फरक फरक दुई बटा विषको बट्टा समेत फेला परेको छ भने एउटा डोरी पनि फेला परेकोले थप अनुसन्धानको लागि तालिम प्राप्त कुकुर झिकाईएको एसपी दाहालले जानकारी दिए । कुकुरले केही हत्याको निचोडसम्म पुग्नमा सहयोग गर्ने बताए । हत्याको आशंकामा केही व्यक्तिहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
शनिबार विहान करिव ७ः३० बजे स्थानीयले घर बाहिर अचेत अवस्थामा मृतकका श्रीमतीलाई लडिरहेको देखेपछि प्रहरीलाई खवर गरेर उद्धार गरी जिल्ला अस्पताल उदयपुरमा प्राथमिक उपचार पछि विराट नर्सिङ होम विराटनगर रेफर गरेको थियो । गम्भिर घाइते महिलाको मुखमा विष दलिएको अवस्थामा फेला पारेकोले थप उपचार भईरहेको प्रहरीले जनाएको छ ।
अढाईतले पक्की घरमा पूर्व शिक्षक राई दम्पति मात्र बस्दै आएको स्थानीयको भनाई छ । श्रीमान् श्रीमती मात्र बस्ने घरमा कसले के कारण यस्तो निर्मम अपराधको घट्ना घटायो भन्ने विषयमा सुक्ष्म अनुसन्धान थालिएको प्रहरी प्रमुख एसपी भीमबहादुर दाहालले बताए । मृतकको शरिरको विभिन्न भागमा निलडाम देखिएको प्रहरीले जनाएको छ ।
दाहालले अनुसन्धान अधिकृत तोकेर १५ जनाको टोलीलाई घट्नाबारे विस्तृत अध्ययन गर्न परिचालन गरेको बताएका छन् । सदरमुकामजस्तो संवेदनसिल ठाउँमै व्यक्ति हत्या र आक्रमणको घट्नाले शान्ति सुरक्षामाथि चुनौति थपिएको भन्दै प्रहरीले छिट्टै दोषी पत्ता लगाउने गरी अनुसन्धान अघि बढाएको जनाएको छ ।









