उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित होटल हिमालयमा म्याद गुज्रेको खाद्य पदार्थ फेला परेको छ । बजार अनुगमनको क्रममा गाईघाटकै प्रतिष्ठित होटल हिमालयमा म्याद गुज्रेको दुई प्याकेट कर्न फ्लेक्स अर्थात मकैको चिउरा फेला परेको हो ।
प्राय दुधसँग खाजाको रुपमा खाने भारतमा निर्मित कर्न फ्लेक्स १९ अप्रिल २०२० मा प्याकिङ्ग भएको देखिन्छ । उत्पादन गरिएको मितिले ९ महिना भित्र प्रयोग गरिसक्नु पर्नेमा त्यसो नभएर अनुगमनको क्रममा प्याकिङ्ग खुलेको म्याद गुज्रेको कर्न फ्लेक्स भेटिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय, गाईघाटका प्रमुख रमेश दाहालले जानकारी दिए । उनका अनुसार उदयपुरकै प्रतिष्ठित होटल हिमालयमा अनुगमनको क्रममा दुई प्याकेट खोलिएको म्याद गुज्रेको कर्न फ्लेक्स बरामद गरिएको जनाएको छ ।
घरेलु तथा साना उद्योग कार्यालय बोक्सेका प्रमुख प्राक्रम खाँका अनुसार म्याद गुज्रेको सामान भेटिएपछि कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय उदयपुर पठाइएको जनाएको छ । उनका अनुसार होटल संचालकले भर्खरै खरिद गरेर ल्याएको सामान भनेपनि म्याद गुज्रेको भेटियो । होटल संचालकले दुई भन्दा बढी पसलबाट खरिद गरेर ल्याएपनि थप अनुसन्धानको लागि जिल्ला प्रशासन कार्यालयलाई आवश्यक कारबाहीको लागि पत्रचार गरिएको घरेलुका प्रमुख खाँले बताए । उनका अनुसार मानिसको स्वास्थ्यसँग जोडिएर उत्पादन भएको खाद्य पदार्थ विक्री वितरण गर्ने तथा उत्पादन गर्ने कसैसँग पनि सम्झौता नगर्ने बताए ।

 

तपाईको प्रतिक्रिया