उदयपुर । उदयपुरमा पनि कोरोना विरुद्धको खोप लगाउन शुरु भएको छ । उदयपुरमा पहिलो दिन कोराना विरुद्धको पहिलो खोप जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदी र दोस्रो खोप जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जीवनारायण मण्डलले खोप लगाएर अभियानको सुरुवात गरेका हुन ।
उदयपुरमा पहिलो चरणमा स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिएका कर्माचारी र अग्रभागमा रहि काम गर्ने कर्माचारीहरुलाई पहिलो प्राथमिकतामा राखेर खोप अभियानको सुरुवाट गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका सूचना अधिकारी तथा खोप सुपरभाइजर चिरन्जिवी निरौलाले जानकारी दिए ।
पहिलो दिन १७ महिला र १६ पुरुष गरी ३३ जनाले कोरोना विरुद्धको खोप लगाएको थियो । अस्पतालकी सिनियर अनमी टिकामाया श्रेष्ठले खोप लगाई दिनु भएको थियो । अस्पतालले खोप लगाइ सकेपछि २० देखि ३० मिनेट आराम गाराउन व्यवस्थापन गरेको थियो भने खोपबाट केहि असर देखिएमा तत्काल उपचारका लागि ६ सदस्य चिकित्सक सहितको टोली व्यवस्थापन गरिएको थियो ।
स्वास्थ्य प्रमुख सुवेदीले खोप सम्बन्धी विभिन्न नकारात्मक प्रचार र भ्रममा नपर्न आग्रह गर्नु भयो । उहाँले यस्तै भ्रमलाई चिर्न आफुबाट खोपको सुरुवात गरिएको बताउनु भयो ।
अमेरिकाको अक्सफोर्ड युनिभर्सिटिले पत्ता लगाएको फर्मुला अनुसार भारतले उत्पादन गरेको कोरोना विरुद्धको खोप नेपाललाई पनि उपलब्ध गराएको हो । हाल उदयपुरलाई २ हजार पाँच सय वटा खोप उपलब्ध गराएकोमा कम्तिमा एक हजार जनालाई पुर्याउने लक्ष्य लिइएको स्वस्थ्य प्रमुख सुवेदीले बताए । उनका अनुसार पहिलो पटक लगाएको २८ देखि ४० दिनभित्र अर्को डोज लगाउनु पर्ने हुन्छ ।
यो खोप सुत्केरी, गर्भवती र बच्चा जन्माउने तयारीको महिलाले लगाउन नहुने बताइएको छ । साथै १८ वर्ष मुनिको हकमा पनि खोप नलगाइने निर्देशन भएको छ ।
पहिलो र दोस्रो दिन अस्पताल र त्रियुगा नगरपालिकाका स्वास्थ्यकर्मीलाई खोप लगाईने छ भने शुक्रबारबाट चौदण्डीगढी हुदै एक हप्तासम्ममा सबै पालिकामा अग्रपंतीमा खटिने स्वास्थ्यकर्मीहरुलाई खोप लगाइसक्ने योजना रहेको छ ।

तपाईको प्रतिक्रिया