उदयपुर/ नेपाल आयल निगमको कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये पाँच जनाको नाम छनौंट गरिएको छ । निगम कार्यकारी निर्देशकको नियुक्तीका लागि गठित छनौंट तथा सिफारिस समितिले शुक्रबार पाँच जनाको नाम छनौंट गरेको हो ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार सुरेन्द्र कुमार पौडेल, लोकबहादुर खड्का, अनिलकुमार झा, रामप्रसाद धिताल र तारानाथ दाहाल छनौंट भएका छन् । कार्यकारी निर्देशकमा आवेदन दिएकामध्ये शैक्षिक योग्यता, कार्यानुभव, व्यवसायिक कार्ययोजना र मामिला अध्ययनको प्रस्तुतीकरण तथा अन्तर्वार्ताका लागि छनौंट गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले छानिएका पाँचै जनालाई शैक्षिक योग्यता, कार्यानुभवको सक्कल प्रति र व्यवसायिक कार्ययोजनाको पावर प्वाइन्ट प्रिजेन्टेशनको सफ्ट कपीसहित उपस्थित हुन आग्रह गरेको छ ।
विहिबार हुने प्रिजेन्टेशनका आधारमा तीन जनाको नाम छनौंट गरेर मन्त्रीपरिषदमा पठाइनेछ । मन्त्रीपरिषद्ले कार्यकारी निर्देशक नियुक्ती गर्नेछ । पाँच जना छनौंट भएकामध्ये पौडेल र खड्का बलिया प्रतिस्पर्धी हुन् । पौडेल उदयपुर सिमेन्टका महाप्रवन्धक हुन् । उनले डुबेको उदयपुर सिमेन्टलाई पुनर्जन्म दिइएको छ । जसले गर्दा उद्योग अहिले नाफामा लगेको भन्दै प्रधानमन्त्री केपी ओलीले निगमको कार्यकारी निर्देशकमा ल्याउन चाहेका छन् ।
स्रोतका अनुसार खड्का युवा तथा खेलकुद मन्त्रालयका उपसचिव हुन् । उनी नेकपाका अध्यक्ष प्रचण्ड निकट छन् । पाँच भित्र परेका धिताल वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रका पूर्व कार्यकारी निर्देशक हुन् । झा जनक शिक्षा र उदयपुर सिमेन्टका पूर्व महाप्रवन्धक हुन् भने दाहाल इन्जिनियर हुन् ।









