उदयपुर । उदयपुरमा शनिबार एक जना भरुवा बन्दुकसहित पक्राउ परेको छ । इलाका प्रहरी कार्यालय कटारीबाट खटिएको टोलीले कटारी नगरपालिका १३ मयंखुका ४० वर्षीय प्रकाशकुमार रानामगर बन्दुकसहित पक्राउ परेको हो । अवैध बन्दुक खेलाउने गरेको भन्ने गोप्य सुराकीका आधारमा खटेको टोलीले मगरलाई दिउसो ३ः४० बजे घरैबाट पक्राउ गरेको जनाएको छ । प्रहरी टोलीले घरमा खानतलासी लिँदा खाली अवस्थामा रहेको एकनाले बन्दुक फेला पारेपछि मगरलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको इप्रका कटारीले जनाएको छ ।
कटारी प्रहरीकै हिरासतमा राखेर मगरमाथि अनुसन्धान सुरु भइरहेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । जिल्लाभित्र रहेका अवैध हातहतियार संकलन गर्ने अभियान अन्तर्गत बन्दुक फेला परेको गौतमले बताए । जिल्लाका सबै स्थानीयतहका वडाहरुमा पनि अवैध हातहतियार राखेको भए बुझाउन प्रहरीले उर्दी जारी गरेकोछ ।
कसैले लुकाई छिपाई राखेको भए त्यस्ता हतियार कानुनविपरित हुने भएकाले बुझाउन आग्रह गर्दै प्रहरीले फेला पारे ऐन बमोजिम कारबाही हुने चेतावनी दिएको छ । गाउँघरमा गाई बस्तुलाई स्याल र बाघ भालुबाट बँचाउन तथा अन्नबाली बाँदरबाट बँचाउन भरुवा बन्दुक राख्ने प्रचलन रहेको भए पनि यो गैरकानुनी भएकाले हतियार बुझाउनुपर्ने प्रहरी अनुरोध छ ।

तपाईको प्रतिक्रिया