उदयपुर । उदयपुर विकास बोर्डको पहलमा चौदण्डीगढी नगरपालिका ६ सातधारेमा नव निर्मित उदयपुर कोभिड १९ अस्पतालको प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे र नेपालका लागि स्वीस सरकारका राजदुत एलिजावेथ भोन क्यापेलरले सोमबार एक कार्यक्रमका विच संयुक्त रुपमा उद्घाटन गरे । मन्त्री घिमिरेले विश्वव्यापी त्रासको कारण बनेको कोविड नियन्त्रणमा उदयपुरले उदाहरणीय कदम चालेको भन्दै त्यो तरिका देशकै लागि नमूना भएको बताए ।
नेपालमा ३ तहको सरकार भएकै कारण कोविड नियन्त्रण गर्न धेरै सहज भएको भन्दै मन्त्री घिमिरेले संघीयता र गणतन्त्रको व्यवस्थाले विदेशतिर भन्दा नेपालीलाई कोभिडले कम सताएको बताए । उनले स्वीस सरकारले उदयपुर मात्र नभएर १ नं. प्रदेशकै कोभिड नियन्त्रणमा अतुलनीय सहयोग गरेको भन्दै प्रशंसा गरे । प्रदेश कोभिड अस्पताल बनाउनेदेखि बेड थप्ने हुँदै अक्सीजन प्लान्ट निर्माण गर्नसम्म स्वीसले गरेको सहयोगप्रति घिमिरेले आभार व्यक्त गरे ।
स्वीस राजदुत एलिजावेथले नेपाल र स्वीस सरकारबीच धेरै कुरामा मेल खाने भन्दै स्वीसले नेपाललाई भाई बन्धु सरह सहयोग गर्दै आएको बताईन् । नेपाल आफुलाई धेरै सुन्दर लाग्ने भन्दै उनले नेपालीहरु स्वाभिमानी र आत्मसम्मानमा बाँच्ने स्वभावको भएकाले स्वीसले निरन्तर सहयोग गर्दै जाने बताईन् ।
अस्पताल निर्माणका लागि स्वीस सरकारको १ करोड ५० लाख र उदयपुरका ८ वटै पालिकाको १ करोड र डा. नारायण खडकाको निर्वाचन विकास कार्यक्रमबाट २५ लाख र अन्य स्रोत गरी ३ करोड २३ लाखमा अस्पताल निर्माण भएको हो । जिल्लाका ८ पालिका मध्ये ४ वटा नगरपालिकाबाट १५÷१५ लाख र ४ वटा गाउँपालिकाबाट १०÷१० लाख गरी १ करोडबाट ‘स्टिल फ्रेम स्ट्रक्चर’को अस्पताल भवन बनाउन शुरु गरिएको उदयपुर विकास बोर्डका अध्यक्ष तथा त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले बताए ।
मेयर चौधरीका अनुसार विश्वभर त्राहीत्राही बनाईरहेको कोविड एक्कासी उदयपुरको सदरमुकाम त्रियुगा नगरपालिका ३ भुल्के स्थित नुरी मस्जिदमा एकै दिन ११ जनामा कोरोना देखिएपछि जिल्लाबासीमा त्रास छाउन स्वभाविक थियो ।
सर्वसाधारणसँगै स्वास्थ्यकर्मी, जनप्रतिनिधि, प्रशासक र प्रहरी सबै आत्तिन थाले । उपचार गर्ने व्यवस्था काठमाडौं, धरान र विराटनगरमा मात्र भएकाले अकालमा मर्नुपर्ने त्रास देखेका जनताले उदयपुरमै कोविड अस्पताल खोल्नुपर्ने चर्को माग गरे । जनताको माग अनुसार गाईघाटमै अस्पताल खोल्न त्रियुगा नगरप्रमुख बलदेव चौधरीलगायत जनप्रतिनिधिले सरकारको ध्यानाकर्षण गराए । तर, संघ र प्रदेश सरकार आफै आत्तिएको अवस्था थियो, माग सुन्ने कुरै भएन ।
पटक पटक माग गर्दा पनि बेवास्ता भएपछि जिल्लाका सबै स्थानीयतहहरु मिलेर आफ्नै पहलमा उदयपुरमा अस्थायी कोविड अस्पताल सञ्चालन गर्ने निर्णयमा पुगे । र, चौदण्डीगढी नगरपालिका बेलटार ६ सातधारेस्थित सशस्त्र प्रहरी बलका लागि निर्माणाधीन ब्यारेकक्षेत्रमा आईसोलेसन केन्द्र सुरु भयो । प्रदेश र संघले सहयोग नगरेकाले जिल्लाका त्रियुगा, चौदण्डीगढी, कटारी र बेलका ४ नगरपालिकाले १५ लाखका दरले र लिमचुङुङ, रौतामाई, उदयपुरगढी र ताप्ली ४ गाउँपालिकाले १० लाखका दरले रकम छुट्याए ।
९ कोठे भवनमा ८ बेड भेन्टिलेटर सहित ३२ शय्या रहने गरी अस्पताल निर्माण भएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले बताए । अस्पतालमा ट्रिटमेन्ट प्लान्टसहितको पानी प्रशोधन केन्द्र र छुट्टै ओपीडी र डाक्टर रुमको समेत व्यवस्था सहितको भवन निर्माण गरिएको मेयर राईले जानकारी दिए ।
संघीयता र गणतान्त्रिक व्यवस्था नेपाली जनतालाई नयाँ संविधानको उपहार सावित भएको भन्दै त्यसकै आधारमा स्थानीयतहहरु मिलेर जिल्लमै कोभिड अस्पताल बनाउन सफल भएको मेयर राईले बताए । उनका अनुसार अपाङ्ग तथा बालमैत्री भवनमा ९ वटा फराकिला कोठा छन् भने पुरुष महिला र अपाङ्गतामैत्री शौचालय, खानेपानी र विद्युतको व्यवस्था गरिएको छ । अस्पताल भवन निर्माणको जिम्मा धुलिखेल–सुसम आदित्य–रेग्मी कन्स्ट्रक्सन जेभीले २ करोड ६८ लाख रुपैयाँमा भवन बनाउने गरी ठेक्का सम्झौता गरेको थियो । अस्पताल भवनको कम्पाउण्ड घेराबेरासमेत गरिसकिएको छ ।
विकास बोर्डका सचिव तथा बेलका नगरप्रमुख दुर्गाकुमार थापाले सञ्चालन गरेको कार्यक्रममा ८ वटै स्थानीयतहका प्रमुख, उपप्रमुख तथा प्रदेश सांसदहरु कला घले, अम्बिा थापा र सुनिता चौधरीको उपस्थिति थियो । चौदण्डीगढी उपमेयर रीताकुमारी चौधरीले स्वागत मन्तव्य दिदै जिल्लामै खोलिएको कोविड अस्पतालले आफुलगायत उदयपुरबासी संक्रमितसँगै धेरै ठाउँका कोविड विरामीलाई निको पारेको बताएकी थिईन् ।

तपाईको प्रतिक्रिया