राजेन्द्र महतो, लहान । सिरहामा एकै परिवारका दुई बालक पोखरीमा मृत अवस्थामा फेला परेका छन्। सिरहाको नरहा गाउँपालिका–३ खोरियाका गुलजार शेखका छोरा १० वर्षीय अनजार र ८ वर्षीय यहसानको शव गाउँदेखि करिव ७ सय मिटर पश्चिमतर्फ रहेको पोखरीमा तैरिरहेको अवस्थामा गत सोमबार बेलुका भेटिएका हुन्।
गाउँमा बालकहरु हराइरहेको हल्ला भए पछि खोजतलास गर्ने क्रममा बेलुकी ७ बजे गाउँले नै पोखरीमा तैरिरहेको अवस्थामा हेरेको नरहा गाउँपालिका–३का वडाध्यक्ष अनिसुल अन्सारीले बताएका छ्न।
घरबाट दिउँसो ३ बजेदेखि हराइरहेका उनीहरुको खोजतलास गर्ने क्रममा सोमबार बेलुका स्थानीय पोखरीमा उनीहरुको शव पानीमा तैरिरहेका अवस्थामा फेला परेको ईलाका प्रहरी कार्यालय मिर्चैया ले जानकारी दिए।
दुवै बालकको डुबेरै मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।
दुवै बालकको शव पोस्टमार्टम का लागि रामकुमार उमा प्रसाद सारडा मुरारका अस्पताल लहानमा राखिएको छ।

तपाईको प्रतिक्रिया