उदयपुर । दसैं संघारमा छ । ग्रामीण भेगका गृहणीहरुलाई रातो र सेतो कमेरोले पोतेर घर चिटिक्क पार्न हतारो छ । दसैंमा घर रंगाउने प्रचलन पुरानो हो । गाउँका सबै घर कम्तीमा दसैंमा एक पटक रातो, कमेरो र पहेंलो माटोले पोतेर रंगाइन्छ ।
सहरी क्षेत्रका घर रंग्याउन, विभिन्न ब्राण्डका पेन्टस्, चुना र इनामेलको प्रयोग हुने भएपनि गाउँघरका घर रंग्याउन भने रातोमाटो, पहेंलो र कमेरो माटोकै प्रयोग हुन्छ । गाउँका धेरै घरहरु रातो र सेतो माटोले पोतेर घर रंग्याइन्छ ।
‘श्राद्धमा घर च्योख्याउनु पर्ने र दसैंमा घर रंगाउन रातोमाटो लिन यहाँ आएकी हुँ,’ चुरिया जंगलमा रातोमाटो खनिरहेकी त्रियुगा नगरपालिका ५ श्रीपुरकी जमुना देवी पोखरेलले भनिन्, ‘गाउँलेले पहिरो लाग्छ भन्दै पाखोमा माटो खन्न पनि दिन्नन् ।’ सोह् श्राद्ध लागेसँगै घर रंग्याउन पात्ले, श्रीपुर, देउरी, जलजले, मोहनपुरका महिलाहरु रातोमाटोको खोजीमा चुरिया जंगल जाने गरेकी छिन् । चुहाडे झोडा, राजाबास, बाँसबारी लगायतका महिलाहरु रातोमाटो लिन रातमाटे पुग्ने गरेको छ । अन्य चाडबाडमा घरपोत्ने माटो नखन्ने चलन छ ।
पछिल्ला समयदेखि स्थानीय समुदायले माटो खन्दा पहिरोको जोखिम बढेको भन्दै सामुदायिक क्षेत्रमा रातो माटो खन्न रोक लगाएको छ । ‘सार्वजनिक जग्गा (पाखो)मा त केही वर्षदेखि रातो माटो खन्न निषेध गरिएको छ । माटो खन्ने ठाउँलाई मट्किलो भन्ने गरिन्छ । रातोमाटो पोतेको घर चिटिक्क परेको राम्रो देखिएपनि माटो खन्न भने सजिलो हुँदैन् । गहिरा सुरुङ जस्ता मडकिल्ना भित्र पसेर माटो झिक्दा मड्किल्नो भत्केर बर्सेनि गृहणीहरुको घाइते हुने गरेको छ ।
थारु बस्तीमा सेतो कमेरो माटोले मात्र घर रंग्याउने गर्छन् । देउरी, जलजले, बगहा लगायतका थारु समुदायका महिलाहरु सेतो कमेरो माटो लिन चुरिया जंगल पुग्ने गरेको छ । यस्तै मोतिगडा, ठाडी, भुल्के, गाईघाट, भुल्के लगायतका थारु महिलाहरु माटो लिन ५ किलो मिटर दक्षिणको चुरिया जंगल सरहा खोला जाने गरेको छ ।









