लहान । जिल्ला प्रशासन कार्यालय सिरहामा बिचौलियाको काममा संलग्न रहेको तीन जनालाई प्रहरीले बुधबार पक्राउ गरेको छ ।पक्राउ पर्नेमा विष्णुपुर गाउँपालिका-४ का २५ वर्षीय जितेन्द्र पासवान, सोही ठाउँका १९ वर्षीय राजु पासवान र सिरहा नगरपालिका -२ का ३८ वर्षीय जितेन्द्र पासवान रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सिरहाबाट सादा पोशाकमा खटिएका प्रहरी टोलीले उनीहरुलाई सेवाग्राहीलाई विभिन्न किसिमको हैरानी दिइरहेको अवस्थामा पक्राउ गरेको हो । 
लामो समय देखि लकडाउनको कारण बन्द रहेका
सरकारी कार्यालयमा सेवा प्रवाह सुचारु भएसँगै बिचौलियाले सर्वसाधारण सेवाग्राहीलाई दुःख दिने गरेको गुनासोको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी प्रबक्ता शालिकराम पौडेलले बताएका छन।
पक्राउ परेका तिनै जना विरुद्व अभद्र व्यवहार शिर्षकमा मुद्दा दर्ता गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाले बताएका छ्न।









