सप्तरी । सरकारले कोरोना भाइरसको परीक्षण दायरा बढाएपछि सप्तरीमा भिटीएम (स्वाब राख्ने भाँडो) अभाव हुन थालेको छ । सप्तरीमा भिटीएम अभाव हुन थालेपछि कोरोना भाइरस परीक्षणका लागि गरिने स्वाब संकलन कार्य प्रभावित हुन थालेको हो ।
असार मसान्तसम्म पाँच हजार ४४० जनाको स्वाब संकलन भएको सप्तरीमा हाल १३ हजार १६५ को स्वाब संकलन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले जानकारी दिए । सप्तरीमा संक्रमितको संख्या ७ सय १६ जना पुगेको छ भने ५ जनाको मृत्यु भएको छ । यस्तै ५ सय १९ जना कोरोनामुक्त भएका छन भने १ सय ९२ जना उपचाररत छन् ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले पनि दैनिक १५० देखि २०० को स्वाब संकलन गर्दै आएको सप्तरीमा अब बाँकी ३५० मात्र भिटीएम बाँकी रहेको जनाए । भिटीएम सकिन लागेपछि स्वाब संकलन कार्य पनि कम गर्नुपरेको उनले जानकारी दिए । उपलब्ध भिटीएम दुई तीन दिनमा सकिने र थप भिटीएम नआए स्वाब संकलन कार्य रोकिने उनले बताए । प्रादेशिक स्वास्थ्य व्यवस्थापन आपूर्ति केन्द्रदेखि सम्बन्धित निकायसँग माग गर्दै आइरहेको जानकारी दिँदै उनले सकिनु अगावै भिटीएम किट आउने आशा व्यक्त गरे ।
सप्तरीको संस्थागत क्वारेन्टिनमा हाल २३ महिलासहित २२९ छन् भने होम क्वारेन्टिनमा २४६ जना छन् । प्रदेश नं २ मा संक्रमित दर बढ्दो रहेको तथा क्वारेन्टिनमा रहेका शंकास्पद र आइसोलेसनमा रहेका सक्रिय संक्रमितको संख्यासमेत बढिरहेकाले प्रत्येक जिल्लामा तत्काल पाँच हजार भिटीएम मौज्दात हुनुपर्ने निमित्त प्रमुख यादवको भनाइ छ ।

तपाईको प्रतिक्रिया