उदयपुर । उदयपुरमा एक वडाध्यक्ष सहित ८ जना कोरोनालाई पराजित गरेर सोमबार घर फर्किएका छन् । चौदण्डीगढी नगरपालिका ६ स्थित सातधारे उदयपुर कोभिड विशेष अस्पतालमा उपचारत उनिहरुको लगातार दोस्रो रिपोर्ट पनि नगेटिभ आएपछि डिस्चार्ज गरिएको हो ।
कोरोना पराजित हुनेहरुमा बेलका नगरपालिकाका ५ जना, कटारी नगरपालिकाका २ जना र उदयपुरगढी गाउँपालिकाका १ जना जना रहेका छन् ।
बेलका नगरपालिका २ का ६४ वर्षिय वडाध्यक्ष सहित बुवा छोरी पनि कोरोनामुक्त भएर घर फर्किएका छन् । कोरोनामुक्त हुनेमा बेलका नगरपालिका २ का ६४, ४०, ३४, ३२ र २३ वर्षिय पुरुष छन् ।
यस्तै कटारी नगरपालिका ५ का ४८ वर्षिय बाबु र १७ वर्षिय छोरी पनि कोरोनामुक्त भएर घर फर्किएका छन् । उनीहरु मध्ये दुई छोरी र एक छोरा गत हप्ता नै कोरोनामुक्त भएर घर फर्किएका थिए । उनीहरु भारतको दिल्लीमा होटलमा काम गर्नेहरु हुन् ।
यस्तै उदयपुरगढी गाउँपालिकाका ३१ वर्षिय पुरुष पनि कोरोनामुक्त भएर घर फर्किएका छन् । उनी वैदेशिक रोजगारबाट फर्केकाहरु हुन् ।
कोरोनालाई पराजित गर्ने ८ जनालाई अस्पतालको हाता भित्र चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राई लगायत स्वास्थ्यकर्मीहरुले डायरी र कोरोना नेगेटिभको सर्टिफिकेट दिएर विदाई गरेका थिए ।
अहिलेसम्म ७७ जनामा कोरोना संक्रमण देखिएको मध्ये ७२ जना कोरोनामुक्त भएर घर फर्किसकेका छन् । कोरोनामुक्त हुनेहरुमा त्रियुगा नगरपालिकामा ४९ जना, कटारी नपामा ७ जना, बेलका नपामा १० जना, चौदण्डीगढी नपामा १ जना, ताप्ली गाउँपालिकामा ३ जना र उदयपुरगढी गापामा २ जना रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
अहिले उदयपुर कोभिड विशेष अस्पताल बेल्टार सातघारेको आइसोलेनमा त्रियुगा नगरपालिकाका १ जना र पूर्वाञ्चल विश्व विद्यालय गोठगाँउको आइसोलेशनमा बेलका नगरपालिकाका ४ जना उपचाररत रहेका छन् ।













