उदयपुर । उदयपुरमा पनि कोरा साइकल यात्रा भएको छ । प्रत्येक वर्ष जुलाईको तेस्रो शनिबार काठमाडौंमा कोरा हुँदै आएको यात्रा यस वर्ष कोरोना भाइरसका कारण विकेन्द्रिकृत भएको हो । 
बुद्ध र हिन्दू धर्ममा कुनै पवित्र तीर्थस्थललाई तीर्थयात्रीहरुले घडीको सुईको दिशामा परिक्रमा गर्नुलाई ‘कोरा’ भनिन्छ ।
एक समूह गाईघाटको मेन चोक गाईघाटबाट सुरु भई साउने, रानीवास, डहर, रौता, प्वारे भञ्ज्याङ्ग, मुकुर्ची, चुहाडे, जलजले, मोतिगडा हुँदै पुनः मेन चोक गाईघाटमा टुंगिएको थियो । उक्त समूहमा ७ जनाको सहभागी थिए । उनीहरुले १०६ किलो मिटर यात्रा पार गरेका थिए ।
यस्तै अर्को समूह गाईघाट देखि कोशी पुल चतरासम्म गएका थिए । भने चौदण्डीगढी साइकल सिटीले बेल्टारबाट चौदण्डीगढी दरबार हुँदै पुनः बेल्टार ७० किलो मिटर यात्रा पार गरेका थिए ।
“सबैको स्वास्थ्य सुधार गर्न र प्रदुषण नियन्त्रण गर्न यस्ता ¥यालीले धेरै महत्व राख्छन” साइकल यात्री जितेन्द्र रोइलाले बताए । उनका अनुसार कोरोना भाइरसका कारण यो वर्ष काठमाडौंमा नभई विकेन्द्रिकृत गरिएको बताए । यस कोरा साइकल यात्राले साइक्लिस्टहरु शरिर तन्तुरुष्त राख्नेमात्र नभई साहासिक पर्यटक भित्र्याउन सकिने ठाउँहरुको उजागर गर्ने रहेको छ । उदयपुरका एतिहासिक तथा धार्मिक दृष्टिले पर्यटकिय स्थलहरु रौता दर्शन, चौदण्डीगढी दरबार, उदयपुरगढी दरबार लगायत बारेमा जानकारी गराउने समेत उद्देश्य रहेको थियो ।
धुलोधुवाँसँग जुधिरहेको अवस्थामा कोराले वातवरणमैत्री साइकल अभियानलाई प्रवद्र्धन गर्न खोजेको रोइलाले बताए । उनले भने, ‘यसलाई मनोरञ्जनमा मात्र सीमित पारिनु हुन्न । वर्षको एक दिन साइकल यात्रा गरेर बाँकी दिन पेट्रोल–डिजेल गाडीलाई बढावा दिनु उचित हुन सक्दैन ।’
‘हामी कोरामा सहभागी हुने साइक्लिस्टहरू सधैंजसो साइकल प्रयोग गर्न खोज्छौं ।’ साइकल यात्री रोइलाले भने, ‘यसको निम्ति साइकल लेन निर्माण र सहरलाई साइकलमैत्री बनाउनुपर्छ भन्ने हाम्रो अभियान छ ।’
यति मात्र होइन, नेपालीलाई साइकलमार्फत् जीवन्त, सहज र सजीव राख्नु पनि हाम्रो उद्देश्य रहेको अर्का साइकल यात्री रोशन माझीले बताए ।
अन्त्यमा कोराको भावार्थ जसरी आत्मालाई आध्यात्मिक उचाइसँग जोड्नु हो,’ माझीले भने, ‘कोरा साइकलिङको भावना पनि साइकलका माध्यमबाट देश, सहर, समाज र व्यक्तिलाई जोड्नु हो । यसले सहर र सरकारलाई साइकलमैत्री हुन झक्झकाई रहनेछ ।’
नेपालमा कोरा साइकल यात्रा उदयपुर सहित धरान, झापा, विराटनगर, सोलुको सल्लेरी, काठमाडौं, भक्तपुर, ललितपुर, दाङ, प्युठान, कैलाली धनगढी, बुटबल, नेपालगंज, सुर्खेत, जुम्ला लगायत ठाउँमा भएको थियो ।









