उदयपुर । डिभिजन वन कार्यालय गाईघाटले यसवर्ष १ लाख ५० विरुवा वितरण गर्न लागेको छ । प्रदेश हरित अभियान कार्यक्रम अन्तर्गत जिल्लाका सामुदायिक वन, विभिन्न संघ संस्था र व्यक्तिगत रुपमा निःशुल्क विरुवा वितरण गरिरहेको छ । 
कार्यालयले गत असार २ गतेदेखि विरुवा समेत वितरणको काम शुरु गरेको डिभिजन वन कार्यालय गाईघाटका डिभिजन वन अधिकृत अम्बिका प्रसाद पौडेलले जानकारी दिए । ‘विभिन्न जातको विरुवाहरु उत्पादन गरेको छौं त्यसको वितरणको काम पनि शुरु गरिसहेका छौं’, उनले भने, ‘यसले प्रदेश हरित अभियान कार्यक्रमलाई सहयोग गर्ने अपेक्षा गरेका छौं, अहिले आधा जति विरुवा निःशुल्क भई सकेको छ ।’ 
यो वर्ष वन कार्यालयले वन्यजन्य र जडीबुटीजन्य विरुवा उत्पादन गरेको छ । टाँकी, असोक, गोल्डमोहर, अम्बा, सिमल, मसला इमली, बाँस, शनी, बर÷पिपल, किम्बु लगायतका वनजन्य विरुवा उत्पादन गरेर निःशुल्क वितरण गरिरहेका छ । यस्तै तेजपात, अमला, राजवृक्ष, पुदिना, निम, सजिवन (मुन्गा) पारिजात, गर्जो, बेल, रिठ्ठा, अर्जुन, मेहदी लगायत रक्तचन्दन लगायत मुख्य ३२ भन्दाबढी प्रजातिका बिरुवा उत्पादन गरेर वितरण गरिरहेको कार्यालय प्रमुख पौडेलले जानकारी दिए । हरियाली उदयपुर एवं निजी वनलाई आगामी वर्षमा जिल्लामा दोब्बर बनाउने उद्देश्यले काम थालिएको उनले बताए ।
डिभिजन वन कार्यालय गाईघाट, सव डिभिजन कार्यालय बेल्टार र रामपुरका नर्सरीहरुमा डिभिजन वन कार्यालयको करिव १५ लाख १२ हजारको लगानीमा १ लाख ५० विरुवा उत्पादन गरेर वितरणका काम शुरु गरिएको सहायक वन डिभिजन अधिकृत जागेश्वर साहले बताए । डिभिजन वन कार्यालय गाईघाटमा वनजन्य र जडीबुटी जन्य विरुवा गरी ७५ हजार, सव डिभिजन कार्यालय बेल्टारबाट ५० हजार र सव डिभिजन कार्यालय रामपुरबाट २५ हजार गरी १ लाख ५० हजार विरुवा निःशुल्क वितरण गर्न लागिएको हो । वन संरक्षणमा स्थानीयवासीलाई थप अब्बल बनाउने नीति अनुसार विरुवा वितरण गरिएको साहले जानकारी दिए ।
कार्यालयले हरेक वर्ष बिरुवा रोप्दै आएको छ, तर रोपिएका बिरुवाको संरक्षण हुन भने सकेको छैन । जोरपोखरी सामुदायिक वन उपभोक्ता समूहका उपभोक्ता संजिव दाहालले बताए । प्रत्येक वर्ष बिरुवा रोपिए पनि बिरुवाको संरक्षण गर्न कसैले चासो दिँदैन् । छिमेकी जिल्ला सिरहा र सप्तरी रातारात काठ तस्किरी भई रहेको छ रोक्ने कोही छैन् ।
अहिले वन कार्यालयले तारबारसहित बिरुवा लगाउने, बिरुवा संरक्षणका लागि हेरालु राख्ने र मरेका बिरुवाको साटो पुनः वृक्षरोपण गर्ने र अनुगमन गर्न सकेमात्रै हरियाली उदयपुर बन्न सक्ने त्रियुगा नगरपालिका ५ का बुर्जा कान्ला सामुदायिक वन समूहका उपभोक्ता नर बहादुर भुजेलले बताए । उनका अनुसार सन्यासी र बुर्जा सामुदायिक वनमा सेनाले रोपेको बास तथा अन्य विरुवा संरक्षण नहुँदा त्यसै मरेको गएको बताए ।
वृक्षारोपण गरेपछि खाली डाँडा हरियालीमा परिणत हुने आश थियो । तर, विरुवा रोपेपछि गोडमेल, स्याहार सुसार र मलजल नभएकाले विरुवा मरेको छ । वृक्षरोपण गरिसकेपछि सामुदायिक वन समूह, नेपाली सेना तथा वन कार्यालयबाट उचित संरक्षण हुन नसक्दा विरुवा नष्ट भएको अर्का स्थानीय नयन बहादुर मगरको आरोप छ ।
हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्क रूपमा वितरण गर्दै आइरहेको छ । तर हरेक वर्ष विभिन्न वन क्षेत्रमा डढेलो जाने र वस्तुभाउले खाइदिने हुँदा के कति बिरुवा संरक्षण भए भन्ने यकिन तथ्याङ्क छैन ।
जसले गर्दा वन कार्यालयले ठूलो बजेटमा खर्च गरेर विरुवा उत्पादन गरेर वितरण गरे पनि यसको प्रभावकारिता कम देखिएको छ । हरेक वर्ष बिरुवाको अवस्था कस्तो छ भन्ने विषयमा अनुगमन गरिरहेको दाबी गरेको छ ।
यस्तै राष्ट्रिय वृक्षारोपण महाअभियान अन्तर्गत डिभिजन वन कार्यालय गाईघाटले चौदण्डीगढी नगरपालिकाको सहकार्यमा द्धारखोला नदी उकास जग्गामा करिव १० हेक्टर क्षेत्रफलमा वृक्षारोपण गरेको सूचना अधिकारी साहले जानकारी दिए ।
निःशुल्क बिरुवा लैजाने व्यक्ति वा संस्थाको नाम टिपेर विवरण रोखेकाले आगामी दिनहरुमा कसले कति बिरुवा लगे र कति हुर्काए भन्ने विषयमा स्पष्ट जानकारी हुने सूचना अधिकारी साहले जानकारी दिए ।









