उदयपुर । विराटनगर स्थित कोशी कोरोना विशेष अस्पतालमा उपचाररत उदयपुरका थप २ जना शुक्रबार कारोनामुक्त भएर डिस्चार्ज भएका छन् । योसँगै उदयपुरका ३५ जना संक्रमित कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुनेमा बेलका नगरपालिका ३ सप्तकोशी किनार एविसी टप्पुका ३५ वर्षिय महिला पवित्रा राई रहेकी छिन् । उनीसँगै संक्रमण पुष्टी हुने पुरुष अहिलेपनि उपचाररत रहेका छन् । उनीहरु भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।
अर्का डिस्चार्ज हुनेमा चौदण्डीगढी नगरपालिका ५ सुन्दरपुर सिवाईका २७ वर्षिय पुरुष मोहमद आजात रहेका छन् । चौदण्डीगढीमा १ जना मात्रै संक्रमित फेला परेको छ । मोहमद आजात सुन्दरपुरबाट काठमाडौ र काठमाडौंबाट सुन्दरपुर आएको समयमा कोरोना पुष्टी भएको थियो ।
डिस्चार्ज भएकालाई होम क्वारेन्टाइनमा थप ७ दिन बस्ने गरी परिवारको जिम्मा लगाईएको चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले जानकारी दिए ।
हालसम्म उदयपुरमा संक्रमितको संख्या ४७ पुगेको छ । जिल्लामा सबैभन्दा बढी त्रियुगा नगरपालिकामा ३९ जना पुगेको छ । ३९ मध्ये ३३ जना उपचारपछि घर फर्किसकेका छन् । त्यस्तै बेलका नगरपालिकामा संक्रमितको संख्या ५ मध्ये १ जना घर फर्केका छन् भने ४ जना उपचाररत रहेका छन् ।
यस्तै कटारी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा १÷१ जना संक्रमितको उपचार भईरहेको छ ।
स्वास्थ्य प्रमुख सुवेदीका अनुसार हालसम्म ८ सय ९७ जना महिला सहित तीन हजार ८२ जनाले पीसीआर परीक्षण गरिसकेका छन् । त्यसमध्ये २ हजार ८ सय ७५ जनाको रिर्पोट आइसकेको छ । जसमध्ये ३८ जना पुरुष र ९ जना महिलामा संक्रमण पुष्टी भएको छ ।
त्यस्तै १ सय ६२ जना महिलासहित ८ सय ८ जनाको आरडिटी टेष्ट भइसकेको छ ।
त्यसमध्ये २ जना पुरुष १ जना महिलामा पोजिटिभ देखिएको छ भने बाँकी सबैको रिर्पोट नेगेटिभ आएको स्वास्थ्य प्रमुख सुबेदीले बताए । कार्यालयका अनुसार २५ जना महिला र १ सय ९३ जना पुरुष गरी २ सय ८ जना क्वारेन्टाइनमा रहेका छन् भने १४ जना महिला र ४ सय ४६ जना पुरुष गरी ४ सय ६० जना होम क्वारेन्टाइनमा छन् ।

तपाईको प्रतिक्रिया