राजेन्द्र महतो, लहान । सिरहाको लहानस्थित एक पोलिक्लिनिकमा अपरेशन गराउन आएकी एक महिलाको ज्यान गएको छ । पुर्व-पश्चिम राजमार्ग स्थित लहान नगरपालिका १ मा रहेको लिला मदन पोलिक्लिनिकका डाक्टरको लापरवाहीले एक महिलाको ज्यान गएको पीडित परिवारको आरोप रहेको छ ।
२५ दिन अघि सप्तरी खडक नगरपालिका ३ की अन्दाजी २३ वर्षिय मौसम खातुनले सोही पोलिक्लिनिकमा अपरेशन गरेर बच्चा जन्माएकी थिईन् । घाउमा टाँका लगाउने क्रममा लापरबाही गरेपछि दुईवटा टाँका चुडिन गएको थियो । नर्मल सुत्केरी हुनु पर्नेमा क्लिनिकले अपरेशन गर्नु पर्ने भनेपछि अपरेशन गरेको परिवार स्रोतले जनाएको छ । अपरेशन गरेको ठाउँको टाँका चुडिएपछि खातुनले पीडा सहन नसकेपछि दोस्रो पटक पुनः सोही क्लिनिकमा चेकजाँच गराउँदा पुनः अपरेशन गर्नु पर्ने भन्दै अपरेशन चार्ज वापत परिवारले ३० हजार जम्मा गरेका थिए । अपरेशनकै क्रममा डाक्टरले लापरबाही गरेपछि महिलाको आज विहान ज्यान गएको थियो । पोलिक्लिनिकका डाक्टरले पुनः अपरेशन गरी रकम उठाउने दाउमा महिलाको ज्यान गएको पिडित परिवारको आरोप रहेको छ ।
पैसा लुट्नकै लागि दोस्रो पटक पनि शल्यक्रिया गरेको र लापरवाही गरेर डाक्टरले महिलाको ज्यान लिएको मृतक पक्षको आरोप छ । खातुनको ज्यान गएलगतै अपरेशन गर्ने क्लिनिकका डाक्टर डा. दिलिप साह त्यहाँबाट फरार भएका छन् । घटना लगतै पोलिक्लिनिकका सञ्चालक पीडित परिवारलाई मिलाउने प्रयास गरिरहेका छन् ।
अवस्था तनावग्रस्त भएपछि त्यहाँ ईलाका प्रहरी कार्यालय लहानको टोली अस्पताल पुगेको थियो । अहिले घटनाको अनुसन्धान भइरहेको ईप्रका लाहानका डिएसपी सरत थापाले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया