उदयपुर ।सरकारले आर्थिक वर्ष २०७७÷०७८ का लागि कूल १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा बिहीवार अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गरेको बजेटमा उदयपुरबासीको हकमा निराशाजनक छ । आर्थिक वर्ष २०७६÷७७ मा उदयपुरका गौरवान्वित १० वटा भन्दा बढी योजना भएपनि आगामी वर्ष आधा योजनापनि बजेटमा समेटिएको छैन् । 
कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण सिर्जिता बन्दाबन्दीले धराशयी बनेको अर्थतन्त्रले विकास निर्माणका योजनामा उदयपुरको हकमा खासै फदायी बजेट छैन् । अन्य जिल्लामा १०–१५ वटासम्म देखिने ठूलठूला आयोजनाहरु बजेटमा समावेश भएपनि उदयपुरलाई उपेक्षा गरिएको जिल्लाबासी बताउँछन् । अधिकांश जिल्लाबासीहरु जिल्लाका सांसदहरुले केन्द्रको बजेटमा आयोजनाहरु पार्न नसक्नु दुख लागेको बताउँछन् ।
चालु आर्थिक वर्षकै आयोजनाहरु राष्ट्रिय गौरवका योजना अन्तर्गत मदन भण्डारी राजमार्ग निर्माण र जनताको तटबन्ध कार्यक्रम अन्तर्गत त्रियुगा नदी नियन्त्रण क्रमागत आयोजना हुन । आगामी वर्षको लागि पनि बजेट विनियोजन भएको छ ।
निर्माणाधिन मदन भण्डारी राजमार्ग आगामी पाँच वर्ष भित्र सम्पन्न गर्ने गरी ३ अर्व ७ करोड विनियोजन गरेको छ । जुन क्रमागत बजेट हुन् । आर्थिक वर्ष २०७६÷७७ मा यस योजनाका लागि ४ अर्व ८२ करोड रकम विनियोजन गरेको थियो ।
यस्तै जनताको तटबन्ध कार्यक्रम अन्तर्गत रतुवा–मावा, बक्राहा, त्रियुगा, लखनदेही, कमला, खाँडो, वाग्मती, लालबकैया, पूर्वी राप्ती, पश्चिम राप्ती, खुटिया–मोहना लगायतका नदी नियन्त्रणका लागि ६ अर्व २० करोडा विनियोजन गरेको छ । यो पनि चालु आर्थिक वर्षको क्रमागत योजना अन्तर्गतकै योजना हुन् । जुन डिपिआर अनुसार नै बजेट विनियोजन भएको छ । आर्थिक वर्ष २०७६÷७७ मा पाँच वटा मात्रै नदीका लागि ५ अर्व ७३ करोड विनियोजन भएको थियो । चालु आवको तुलनामा आगामी वर्ष बजेटको आकार घटेको छ ।
मिर्चैया–कटारी–घुर्मी–सल्लेरी सडक सुधार तथा स्तरोन्नतिका लागि आवश्यक रकम विनियोजन गरेको बजेट कितावमा उल्लेख छ । तर, कहि कत्तै बजेट रकम खुलाएको छैन् । त्यस सडक प्रयोग गर्दै आएको सर्वसाधारण भने सडक सुधार तथा स्तरोन्नति हुनेमा सशंकित छन् ।
उद्योग अन्तर्गत आगामी वर्षका नयाँ योजनामा उदयपुरको चौदण्डीगढी नगरपालिका अन्तर्गत कम्पुघाटमा म्याग्नेसाइटको विस्तृत अध्ययन तथा अन्वेशषण गरिने बजेटमा भनिएको छ । तर, के कति बजेट विनियोजन भएको छ उल्लेख छैन् ।
चालु आर्थिक वर्ष २०७६÷७७ का लागि उदयपुर सिमेन्ट उद्योगको क्षमता विस्तार, कोशी करिडोर निर्माण, कोशी नदीमा जलयातायात पूर्वाधार विकास कार्यक्रम, जल तथा मौसमको साथै बाढी पूर्वानुमानका लागि राडर जडान, पर्यटन क्षेत्र लगायतका आयोजना प्राथमिकतामा परेका थिए ।
तर, आगामी आर्थिक वर्षका लागि यस्ता योजनामा बजेट छैन् । उदयपुरका लागि देखिने खालको कुनै पनि योजना आगामी वर्षको लागि देखिँदैन ।









