काठमाडौं । सरकारले भारतले अतिक्रमण गरी विवादित बनाएको लिम्पियाधुरा, कुटी, गुन्जी, नाभि, लिपुलेकसहितका क्षेत्र समेटेर नयाँ नक्सा जारी गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले भुमि व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले तयार पारेको नक्सालाई अनुमोदन गरेको हो ।
सोमबारको बैठकमा भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले नक्सा पेश गरेकी थिइन् ।
बैठकमा उपस्थित पर्यटनमन्त्री योगेश भट्टराईले सोमबार साँझ यसबारे जानकारी गराएका हुन्। उहाँले भन्नु भयो, ‘लिपुलेक, लिम्पियाधुरासहितको नक्सा सोमबार पारित भएको छ ।’
मन्त्री अर्यालले यसअघि नै नक्सा तयार भइसकेको बताउँदै आएकी थिइन् ।
नयाँ नक्सामा भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको छ ।
गत जेठ २ गते सरकारले पेश गरेको नीति तथा कार्यक्रममा पनि सरकारले भारतले अतिक्रमण गरेको लिपुलेक,लिम्पियाधुरा, कालापानी लगायत भू–भाग समेटेर नयाँ नक्सा जारी गर्ने प्रतिवद्धता गरेको थियो ।
यसअघि भारतले नेपालको लिपुलेक जोडेर चीनको मानसरोवर जाने सडक बनाएको भन्दै तीव्र आलोचना हुँदै आएको थियो। नेपाल सरकारले भारतको उक्त कदम खेदजनक भएको बताएको थियो र कूटनीतिक तवरले नै अगाडि बढ्न आग्रह गरेको थियो । भारतीय सेना प्रमुखले भने नेपाल सरकारले अरू कसैको निर्देशनमा चलेको टिप्पणी गरेको थियो ।