उदयपुर । लकडाउनमा नाला सफा गर्ने बहानामा कटारी नगरपालिका–४ को मरुवा हरित सामुदायिक वन क्षेत्रमा सडक खन्दै गरेको एक्स्काभेटर वन कार्यालयले नियन्त्रणमा लिएको छ । अवैध रूपमा सडक खनिरहेको ना१क ५४७३ नम्बरको स्काईभेटर शनिबार बेलुकी नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालय त्रिवेणीले का प्रमुख वन अधिकृत उपेन्द्रप्रसाद पटेलले बताए ।
‘सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष सहितको गस्ती टोली देखेपछि अपरेटर फरार भए,’ उनले भने, ‘जेसीबी ल्याउने क्रममा वनरक्षक गोकर्ण थापा घाइते भएका छन् ।’ एक्स्काभेटरको ढोकामा ठोक्किएर थापाको टाउकोमा चोट लागेको छ । कार्यालय र उपभोक्ता समूहको संयुक्त टोली गस्ती खटिएको थियो । पहिलेको सडक अहिले नाला बनाउने बहानामा स्तरोन्नति गर्न खोजिएको हो ।
वन अधिकृत पटेलले भने अवैध रूपमा सडक खन्न लगाउनेको खोजी भइरहेको बताए । ‘अहिले अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘अनुसन्धानपछि कारबाही प्रक्रिया बढ्नेछ ।’

सडक खन्ने क्रममा करिव ३ किलो मिटरमा धेरै नै हरियो सालका रूख ढल्ने अवस्थामा पुगेको समूहका अध्यक्ष विष्णु राई दनुवारले बताए । उनका अनुसार १० दिनयता वनक्षेत्रमा एक्स्काभेटर चलाइएको भेटिएको छ । उनले भने, ‘कटारी नगरपालिका ४ को मरुवा हरित सामुदायिक वन र वडा नं. ७ र ८ मा पर्ने सरस्वती सामुदायिक वनमा गरी ३ वटा स्काईभेटरले सडक खनेको पाईएको छ । एउटा स्काईभेटर नियन्त्रणमा लिएपनि अरु दुई वटा भागेको छ ।’
यसअघि पनि सोही क्षेत्रमा सौर्य सिमेन्टले अवैध रूपमा सडक खनेको थियो । अध्यक्ष दनुवारका अनुसार सिराहाको मिर्चैयामा रहेको सौर्य सिमेन्ट उद्योगका लागि चुनढुंगा ढुवानी गर्ने सिद्धिचरण मल्टिप्रपोज कन्ट्रक्सनले जथाभावी सडक खन्न लगाएको हो ।
‘वन कार्यालयमा पटकपटक लिखित तथा मौखिक उजुरीसमेत दिइएको थियो, तर अवैध रूपमा सडक खन्ने काम रोकिएन ।’ सामुदायिक वन अध्यक्ष राई दनुवारले भने, ‘२०७५ साल बैशाखको पहिलो हप्ता पनि सौर्य सिमेन्ट उद्योगको स्काइभेटरले रातारात २ किलोमिटर सडक खनेको थियो । सिद्धिचरण राजर्मागको सिम्लेदेखि कटारी नगरपालिकाकै मर्जेतपुरमासँग जोड्न सामुदायिक वन क्षेत्रभित्र बाटो खनेको थियो ।’ उनका अनुसार सौर्य सिमेन्टले प्रयोजनको लागि अनुमति लिइएको बाटो ३ किलोमिटर माथि पर्छ ।

यस्तै सरस्वती सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष खड्ग तामाङका अनुसार आफ्नो सामुदायिक वन क्षेत्रमा पनि स्काईभेटरले बाटो खनेको भेटिएको बताए । उक्त वन क्षेत्र भित्र दुई वटा स्काईभेटरले बाटो खनेको प्रत्यक्षदर्शी स्थानीयहरु बताउँछन् ।
उक्त एक्स्काभेटर सिद्धिचरण मल्टिप्रपोज कम्पनीले नै प्रयोग गर्दै आइरहेको छ । यसअघि पनि सोही एक्स्काभेटरले पानीटयांकीदेखि सिद्धिचरण राजमार्ग जोडने गरी वनक्षेत्र मासेर सडक खनिएको थियो ।









