उदयपुर । उदयपुरमा पहिलो पटक कोरोना भाईरस (कोभिड–१९) संक्रमित १३ जनाको दोस्रो पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । वैशाख ५ गते पहिलो संक्रमित पुष्टि भएर कोरोना अस्पताल विराटनगरको आईसोलेसनमा उपचाररत त्रियुगा नगरपालिका ३ भुल्के नुरी मस्जिदका उनीहरुको १४ दिनपछि गरिएको पिसिआर रिपोर्ट नेगेटिभ आएको हो ।
शुक्रबार र सोमबारको रिपोर्टमा सुरुका १३ जनामा कोरोना नेगेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन प्रसाद सुवेदीले बताए । उनका अनुसार अव पुनः टेष्ट गरेर रिपोर्ट नेगेटिभ आए डिस्चार्ज गरिने छ । मस्जिदका १२ भारतीयसहित १६ जमातिमध्ये पहिलो पटक उनीहरुमा संक्रमण देखिएको थियो । उनीहरुपछि संक्रमण पुष्टि भएका थप १५ जना पनि कोसीकै आईसोलेसमा उपचाररत छन् । १३ पछि भेटिएका थप ८ संक्रमितको पनि आईसोलेसन बसाई १४ दिन पुगेकाले उनीहरुको दोस्रो स्वाब परीक्षण हुँदैछ ।
संक्रमितहरूमध्ये पहिलो चरणमा भर्ना भएका उदयपुरका १३ जनाको शुक्रबार स्वाबको नमुना संकलन गरी परीक्षण गरिएको थियो । सोमबार पुनः दोस्रो पटक परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा विभाग प्रमुख सुरेश महत्तोले जानकारी दिए । उनका अनुसार सोमबारको रिपोर्ट पनि नेगेटिभ आएको छ । अव दुई दिन पछि पुनः परीक्षण गरिनेछ ।
संक्रमित बिरामीको हरेक १४ दिनमा स्वाब परीक्षण गर्ने गरिन्छ । यो परीक्षणमा पोजेटिभ रिपोर्ट आए थप १४ दिन उनीहरू अस्पताल बस्नुपर्ने हुन्छ भने नेगेटिभ रिपोर्ट आएमा लगातार दुई परीक्षण गरी डिस्चार्ज गरिन्छ । भुल्केका १२ भारतीय कोरोना मुक्त भए डिस्चार्ज गरेर कहाँ पठाउने बारे अन्यौल छ । स्रोतका अनुसार डिस्चार्ज भएका विरामीलाई पुनः १४ दिन होम क्वारेन्टाइन वा क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ । उनका अनुसार भारतमा पनि थप लकडाउन भएकोले तत्कालै भारत पठाउन नसकिएकोले यतैको क्वारेन्टाइनमा राख्नु पर्ने अवस्था सृजना भएको छ ।
भुल्केमा वैशाख ५ देखि ९ गतेभित्र परीक्षण गर्दा २८ जना संक्रमित फेला परेपछि सिंगो उदयपुर त्रस्त बन्न पुगेको थियो । मस्जिदमा रहेका भारतीय जमातिमा संक्रमण पाइएपछि उनीहरुबाटै अन्यमा संक्रमण सरेको हुनसक्ने अनुमान गर्दै मस्जिद आसपास र अन्य मस्जिदक्षेत्र ‘कन्ट्याक्ट ट्रेसिङ’ का आधारमा पिसिआर परीक्षण गरिएको थियो । मस्जिदभन्दा बाहिर पहिलो चरणमा ६९ को परीक्षण गर्दा ८ जना संक्रमित भेटिएका थिए भने बाँकी ३ जमातिमा पनि संक्रमण पुष्टि भएको थियो । तेस्रो चरणमा संकलित २ सय ५२ मध्ये थप ३ जनामा देखिएसँगै भुल्केमा २८ जना संक्रमित पुष्टि भएका थिए ।

तपाईको प्रतिक्रिया