काठमाडौँ । स्वास्थ्य मन्त्रालयले पर्साको वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित मस्जिदमा बसिरहेका कोरोना देखिएका तीनजनाको संसर्गमा गरेका व्यक्तिहरु तथा उनीहरु गएको स्थानको पहिचान गरी कन्ट्याक्ट ट्रेसिङको काम भइरहेको बताएको छ ।
मन्त्रालयले फेसबुक फेजमार्फत विज्ञप्ति जारी गर्दै कोरोना पुष्टि भएकाहरु ३७, ५५ र ४४ वर्षका पुरुष रहेको पनि उल्लेख गरेको छ । मस्जिदमा बसिरहेका २१ जनाको स्वाब नमुना हेटौंडामा गरिएको परीक्षण गर्दा तीनजनामा पोजेटिभ देखिएको र शनिबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पनि परीक्षण गर्दा पोजेटिभ पुष्टि भएको पनि मन्त्रालयले जनाएको छ ।
उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसनमा राखिएको छ भने उनीहरुसँगै रहेका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ ।
यी तीनैजना भारतीय नागरिक हुन् । उनीहरुले आफूहरु चार महिनाअघि नेपाल प्रवेश गरेको दावी गरेका छन् भने स्थानीयले १० दिन पहिले मस्जिदमा आएको बताएका छन् ।
भारतीय मिडियामा अत्यधिक नाम लिइएका पर्सा जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालिम मुखिया (मियाँ)ले चैत्र १९ गते जमातीहरुलाई नेपाल प्रवेश गराएको रहस्य खुलेको हाम्राकुरा डटकममा दिपेन्द्र चौहानले सामाचार लेखेको छ ।
सामाचारमा सुरक्षा स्रोतका अनुसार चैत्र १९ गते नेपाल प्रवेश गर्नुअघी जमातीलाई भारतीय सुरक्षाकर्मीले रोक्ने प्रयास गरेपनि उनीहरुले ढुङगामुढा गरि नेपालतर्फ प्रवेश गरेको र त्यहाँबाट जगरनाथपुरका अध्यक्ष सहितले १० वटा मोटरसाइकलको व्यवस्था गरि नेपाल प्रवेश गराएका थिए । प्रदेश नम्वर २ का आन्तरिक मामिला मन्त्रालय स्रोतका अनुसार रौतहट, सप्तरी, सिराहामा गरि ३ सय ४९ जमातीहरु रहेको बताइएको छ । सुरक्षाकर्मीहरुले उनीहरुको खोजी शुरु गरेको बताइएको छ । केहि जमातीहरु सुनसरी र मोरङगमा पनि रहेको सुरक्षा स्रोतको दावी छ ।
भारतमा कोरोना संक्रमित प्रवेश गराउने षडयन्त्र गरेको आरोप सहित भारतीय मिडियामा अत्यन्तै प्रचारित मुखियाले लकडाउनका बेलामा नेपालमा गैर नेपालीलाई प्रवेश किन गराए भन्ने कुरा अहिले विरगंजमा धेरैको चासो बिषय भएको छ ।









