काठमाडौं । सरकारले कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन गरेपछाडि प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक सात वटै प्रदेशका मुख्यमन्त्रीहरुसँग भिडियो कन्फ्रेन्समार्फत छलफल गर्दै संक्रमणको अवस्था खतरापूर्ण हुञ्जेल लकडाउनलाई निरन्तरता दिने बताएका छन् । मुख्यमन्त्रीहरुले छिमेकी मुलुक भारतमा संक्रमणको खतरा बढीरहेकाले लकडाउनको अवस्थालाई कायम राख्नुपर्नेमा जोड दिएको छ ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले देशभर लकडाउन गरेको अवस्थामा प्रदेश र स्थानीय सरकारले गरेका कामका विषयमा शनिबार भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री ओलीले मुख्यमन्त्रीहरुसँग छलफल गरेका हुन् ।
भिडियो कन्फ्रेन्समा प्रधानमन्त्री ओलीले कोभिड १९ संक्रमणको नियन्त्रण रोकथाम र उपचारका सन्दर्भमा स्थानीय तह र सबै प्रदेशहरुमा भइराखेका कामहरुको जानकारी लिए ।
भिडियो कन्फ्रेन्समा मुख्यमन्त्रीहरुले कोभिड–१९का विरुद्धमा आ–आफ्नो प्रदेशमा भएका प्रयासहरुको बारेमा प्रधानमन्त्री ओलीलाई जानकारी गराएको प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले बताए ।
भिडियो कन्फ्रेन्समा कोरोना भाइरसको नियन्त्रणका लागि नपुगेका प्रयासहरुमा जोड दिने र समन्वयात्मक रुपमा संघ, प्रदेश र स्थानीय सरकारबीच काम गर्नुपर्ने सन्दर्भमा छलफल भएको उनले बताए ।
यस्तै स्वास्थ्यका क्षेत्रमा पूर्वाधारहरु थपिएको र अझ अत्यावस्यक पूर्वाधारहरु प्रदेशमा पनि बढाउन केन्द्र सरकारले अझबढी पहल गर्नुपर्नेमा सबै प्रदेशका मुख्यमन्त्रीहरुले जोड दिएका थिए ।
प्रधानमन्त्री ओलीले सीमा नाकामा कडाइ गरिने, लकडाउनलाई निरन्तरता दिने र संक्रमणको खतरालाई कुनैपनि भावुक कुराहरु गरेर लापरबाही नगरिने विषयमा मुख्यमन्त्रीहरुलाई स्पस्ट हुन आग्रह गरेको उनले बताए । भिडियो कन्फ्रेन्समा कुनैपनि हिसाबले संक्रमण फैलिने स्थिति नहोस भन्नका लागि सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, प्रदेश सरकार र संघीय सरकारले उचित ध्यान दिने विषयमा समेत छलफल भएको थियो ।
नागरिकको जीवन रक्षाका लागि लकडाउन गरिएको हुनाले जीवन रक्षामा केन्द्रित हुने र नागरिकलाई दुख दिनका लागि लकडाउन गरिएको होइन भन्ने विषयमा स्पष्ट गर्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिएको उनले बताए ।
जनतामा मनोबैज्ञानिक त्रास नहोस भन्नका लागि सबै तहका सरकारले ध्यान दिनुपर्ने, क्वारेन्टाइनको व्यवस्था गर्नुपर्ने, क्वारेन्टाइनमा बस्नुपर्नेलाई अनिवार्य क्वारेन्टाइनमा राख्नुपर्नेमा प्रधानमन्त्री ओलीले जोड दिए ।
भिडियो कन्फ्रेन्समा सबै प्रदेशका मुख्यमन्त्रीहरुले संक्रमणको अवस्था खतरापूर्ण हुँदा सम्म लकडाउन प्रति नरम हुन नहुने कुरा राख्नु भएको प्रेस सल्लाहकार थापाले बताए ।

तपाईको प्रतिक्रिया