विरगंज । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमण पोजेटिभको आशंकामा हेटौंडामा परीक्षण गरिएको तीन जनाको स्वाब थप परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।
हेटौंडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीन जनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने छुट्याउन नसकेपछि थप निर्कियोल गर्नका लागि ती नमुनालाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाइएको छ ।
पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको वागमती प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । कोरोना पोजेटिभको आशंकापछि वीरगन्ज महानगरपालिका–२, छपकैयास्थित श्रीराम हल अगाडिको मस्जिदमा बस्दै आएका थिए ।
नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए । कोरोना परिक्षण ल्याबले शंकास्पद देखिएका ३ जनाको रिर्पोट कन्फर्म गर्नका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा पठाएको नारायणी अस्पतालका चिकित्सकले जनाएका छन् ।
स्थानीयका अनुसार विगत ९–१० दिन अगाडिमात्र यी धार्मिक गुरुहरु मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका छन् ।









