उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का आशंका गरिएका उदयपुरमा थप १८ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । उनीहरुलाई र्यापिड डाईनोस्टिक टेस्ट (आरडिटी) किट मार्फत रगतबाट कोरोना परीक्षण गरिएको थियो । उदयपुरका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमै पुगेर कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गरेको थियो ।

जिल्ला जनस्वास्थ्य अधिकृत मोहन सुबेदीका अनुसार आरडिटी किट जिल्लामा प्राप्त भएपछि शुक्रबारबाट क्वारेन्टाइनमै पुगेर स्वास्थ्य परीक्षण गरेको गरेको जानकारी दिए । रौतामाई गाउँपालिका मुर्कुचीमा ४ जना, चौदण्डीगढी नगरपालिका १० हडियामा ६ जना र त्रियुगा नगरपालिका ३ मोतिगडा क्याम्पसमा ८ जना गरी १८ जनाको रगत परीक्षण गरिएको थियो ।
उनका अनुसार आरडिटी किटबाट रक्त परीक्षण गरेको १५ मिनेटभित्रै रिपोर्ट आईसक्ने प्रविधि भएकाले परीक्षण कार्य सहज र सरल छ । ‘यसले रगत परीक्षण गरेको १५ मिनेटमै रिपोर्ट आउदो रहेछ’ सुबेदीले भने ‘त्यसैले केही दिनभित्रै स्वास्थ्यकर्मी टोली जिल्लाका सबै क्वारेन्टाइनमा पठाएर परीक्षण गरिसक्ने योजना बनाउँदैछौं ।’
आडिटी किट मार्फत परीक्षण गरिएपनि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नु पर्ने र त्यपछि घर पठाएर होम क्वारेन्टाइनमा अझै सात दिन विताउनु पर्ने सुवेदीले बताए । उनका अनुसार आडिटी प्रविधिमार्फत कोरोना परीक्षण गरिएका मध्ये पुनः १० प्रतिशतको स्वाब परीक्षण मार्फत कोरोना परीक्षण गरिने बताए । आडिटी प्रविधि विश्वमा भरपर्दो नभएको बताईरहेको अवस्थामा नेपालमा यस प्रविधिमार्फत प्रारम्भिक कोरोना परीक्षण गरिरहेको छ ।
जिल्ला अस्पताल उदयपुरका अनुसार परीक्षण किट जनस्वास्थ्य कार्यालयमा आएको छ र जनस्वास्थयले नै परीक्षण कार्यको समन्वय गरिरहेको छ । अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा. जिवनारायण मण्डलले आरडिटी किट कोरोना संक्रमणको आशंका भएकाहरुको रगत परीक्षण गरिने प्रविधि भएको बताए । उनका अनुसार यसबाट रगतमा कोरोना पोजेटिभ देखिएमा अर्को चरणको परीक्षण ‘स्वाब टेस्ट’ गर्नुपर्ने हुन्छ ।
आरडिटी गर्दा र्यापिड टेस्ट रिपोर्ट नेगेटिभ देखिएमा उसलाई घर पठाए हुने तर, जसको रिपोर्ट पोजेटिभ देखिन्छ, त्यस्तालाई क्वारेन्टाइनमै राखेर स्वाब परीक्षण गर्नुपर्ने मण्डलले बताए ।
यस अघि उदयपुरमा त्रियुगा नगरपालिकाको ८ जना र लिम्चुङबुङ गाउँपालिकाको ४ जना र बेलका नगरपालिकाको एक जनामा कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
उदयपुरमा हालसम्म ६७ जनालाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य परीक्षण कार्य भईरहेको छ । जसमध्ये भारतबाट आएर कटारी १ बेलसोतस्थित क्वारेन्टाइनमा १४ दिन बिताईसकेका ३ महिलासहित २६ जनाको स्वाब परीक्षण गर्न बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । ३ दिनअघि नै पठाइएको स्वाबको रिपोर्ट भने आईनसकेको स्वास्थ्य कार्यालयले जनाएको छ ।









