उदयपुर । नेपाली सेनाको १८ नम्वर वाहिनी मातहतको रणशार्दुल गण वेलस्रोत क्याम्पमा कोरोना भाईरस (कोविड १९) को आशंकामा गरिएका २६ जनाको स्वाब बुधबार परीक्षणका लागि नमुना संकलन गरिएको छ । सरकारले विदेशबाट आएहरुको स्वाब परीक्षण गर्ने निर्णय गरेसँगै सेनाको क्वारेन्टाइनमा रहेको २६ जनाको स्वाबको नमूना संकलन गरेको हो । जिल्ला स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र कटारी नगरपालिकाको स्वास्थ्य शाखाको संयुक्त टोलीले १५ दिनदेखि क्वारेन्टाइनमा बसेका उनीहरुको स्वाब संकलन गरी विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएका जन स्वास्थ्य कार्यालय प्रमुख मोहन सुवेदीले जानकारी दिए । उनले भने, ‘क्वारेन्टाइनमा राखेपछि त्यसको मापदण्ड पुरा गर्नै पर्ने र बसेकाहरुलाई पनि स्वास्थ्य अवस्थाको जानकारी दिनु पर्ने भएकाले परीक्षण गर्न पठाएका हौं ।’ जिल्लाबाट स्वाब परीक्षणका लागि पठाईएका १३ जनाकै कोरोना रिर्पोट नेगेटिभ आएको छ । अहिलेसम्म विदेशबाट आएका ६७ जनालाई क्वारेन्टाईनमा राखिएको छ । सेनाको क्वारेन्टाइनमा २६ जना, चौदण्डीगढीले बनाएको क्वारेन्टाइनमा ४ जना, त्रियुगा नगरपालिकाको क्वारेन्टाइनमा ८ जना, बेलका नपामा ९, रौतामाई गाउँपालिकामा ८ र लिम्चुङबुङ गाउँपालिकामा १२ जनालाई क्वारेन्टाईनमा राखिएको छ ।
यस्तै दुई सय ८४ जना होम क्वारेन्टाइनमा रहेका छन् ।

तपाईको प्रतिक्रिया