उदयपुर । नोवेल कोरोना भाइरस (कोभिड–१९) का बिरामी रहेको आशंका गरिएका उदयपुरको पाँच जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । स्वाब परीक्षणका लागि पठाइएका नौं जना बिरामीमध्ये ५ जनाको नतिजा नेगेटिभ आएको हो । बाँकी चार जनाको आउन बाँकी रहेको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदीले जानकारी दिए ।
विदेशबाट आएका त्रियुगा नगरपालिकाका चार जना, बेलका नपाबाट एक जना र लिम्चुङबुङ गाउँपालिका चार जनाको स्वाब परीक्षणका लागि धरानस्थित वीपी स्वास्थ्य प्रतिष्ठान पठाइएको थियो । लिम्चुङबुङ गाउँपालिकाका बाहेकका सबै बिरामीको नतिजा नेगेटिभ आएकाले जिल्लामा संक्रमण देखा नपरेको हो ।
जिल्लामा होम क्वारेन्टाइनमा बस्नेको संख्या दुई सय ४५ पुगेको छ । त्यसमध्ये सबैभन्दा बढी बेलका नगरपालिकामा एक सय ५९, त्रियुगामा ७९ र ताप्लि गाउँपालिकामा ७ रहेको छ । विदेशबाट आएका तर केही बिरामी नदेखिएका उनीहरुलाई स्थानीय प्रशासनले १४ दिनसम्म घर बाहिर ननिस्कन गरी होमक्वारेन्टाइनमै राखेको हो ।
‘सर्वसाधरणको बुझाइमा अझै पनि कमी छ, छिमेकी जिल्लाबाट प्रवेश गरिरहेकाले केही भन्ने अवस्था छैन्’ सुवेदीले भने, ‘तर पनि अहिलेसम्मको नतिजाले हामी ढुक्क छौं, तर चुप लागेर बस्ने अवस्था भने छैन, प्रवेश गर्ने सम्भावना अधिक रहेको छ ।’
यो पनि पढ्नुस्

तपाईको प्रतिक्रिया