उदयपुर । सरकारले नदिएपछि उदयपुरका स्थानीय तहले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) आफैं मगाएका छन् ।
विश्वव्यापी महामारीको समस्या बनेको कोरोना भाइरसको रोकथामका लागि उपचारमा खटिने उदयपुरका स्वास्थ्यकर्मीहरुलाई सरकारले व्यक्तिगत सुरक्षा सामाग्री (पीपीई) प्रयाप्त मात्रामा नदिएपछि जिल्लाका आठ वटै स्थानीय तहहरुले आफैंले खरिद गरेर पीपीई उपलव्ध गराएका छन् ।केही दिन अगाडी जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका एक कर्मचारीले आफ्नो फेसबुक स्टाट्स लेखेका थिए, ‘बाघ मार्न पठाउने तर हतियार नदिने । उल्टै बाघले मार्न सक्छ (कोरोना पहिचानमा स्वास्थ्यकर्मी परिचालन गर्दा पीपीई, थर्मलगन उपलब्ध होस् ।) ’ यस पोष्टलाई गहिरिएर केस्रा केलाउँदा सरकारी निकायको ढिलासुस्तीले गर्दा कहि कथन विना सुरक्षा कोरोना चेकजाँच गर्दा स्वास्थ्यकर्मी आफै संक्रमित हुने भाव जनाएको छ । उनले लेखेको फेसबुक स्टाटसले विना सुरक्षा बस्त्र कोरोना चेकजाँच गर्दा स्वास्थ्यकर्मी आफै संक्रमित भएपनि स्वास्थ्यकर्मीले नै उल्टै सयौंलाई संक्रमति गर्न सक्छ र सयौंले हजारौं संक्रमण फेलाउन सक्ने भाव प्रकट हुन्छ ।
सरकारले कोरोना संक्रमितको स्वास्थ्य चेकजाँच गर्ने स्वास्थ्यकर्मीको लागि पीपीई नपठाएपछि जिल्लाका स्थानीय तहहरु आफ्नै ढंगबाट स्थानीय तहकै खर्चमा १ सय २८ सेट पीपीई खरिद गरेका हुन् । उदयपुरका सवै स्थानीय तहले आफ्नै खर्चमा खरिद गरेका हुन् ।
सरकारले सामग्री उपलब्ध नगराएकाले उपचारमा खटिने स्वास्थ्यकर्मीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै चौदण्डीगढी नगरपालिकाले आफ्नै पहलमा नै पीपीई खरिद गरेको मेयर खगेन्द्र राईले जानकारी दिए । उनका अनुसार चौदण्डीगढी नगरपालिकाले आफ्नै बजेटबाट २५ थान पीपीई खरिद गरेको जानकारी दिए । यता कटारी नगरपालिकाले पनि आफ्नै खर्चमा पीपीई खरिद गरेका छन् । कटारी नगरपालिकाले १५ वटा खरिद गरेका छन् ।
जिल्ला स्वास्थ्य कार्यालय, प्रदेश सरकार र केन्द्रिय सरकारलाई पीपीई उपलब्ध गराई दिन अनुरोध गर्दा गर्दै थाकेपछि हामी आफैले खरिद गरेको पालिका प्रमुखहरु बताउँछन । आज भोली भन्दा भन्दै कोरोना आशंकाका विरामी बढ्न थालेपछि बाध्य भएका आफै किन्नु परेको उदयपुरगढी गाउँपालिकाका प्रमुख मानबहादुर केप्छाकी मगरले बताए । उदयपुरगढी गाउँपालिकामा २५ सेट पीपीई खरिद गरेको अध्यक्ष मगरले बताए ।
त्रियुगा नगरपालिकाले २२ वटा, बेलका नगरपालिकाले ६ वटा, रौतामाई गाउँपालिकाले १० वटा, लिम्चुङबुङले २० वटा र ताप्ली गाउँपालिकाले ५ वटा पिपिई खरिद गरेको छ । यस्तै जिल्ला जनस्वास्थ्य कार्यालय उदयपुरबाट ५ वटा पिपीई वितरण गरेको रेकर्ड रहेको छ । जसमा १८ नं. बाहिनीलाई एउटा, कटारी नगरपालिकालाई दुई वटा र जिल्ला अस्पताल गाईघाटलाई दुई वटा वितरण गरेको छ ।
यस्तै उदयपुरको आठ वटै स्थानीय तहमा गरी ३ सय ७७ क्वारेन्टाइन निर्माण गरिएको छ भने चौदण्डीगढी नगरपालिकामा १७, त्रियुगा नगरपालिकामा २१ र कटारी नगरपालिकामा एउटा गरी ३९ वटा आइसोलेसन वार्डको व्यवस्था गरिएको छ ।

तपाईको प्रतिक्रिया