उदयपुर । जिल्लाको रौतामाई गाउँपालिकाले १० लाख रुपैयाँको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी कोष खडा गरिएको गाउँपालिकाले जनाएको छ ।कोषमा पालिकाको विपद् व्यवस्थापन कार्यक्रमबाट ५ लाख, जनप्रतिनिधिरुको पाँच दिनको सुविधा, कर्मचारीहरुको एक दिनको सुविधा गरी करिब १० लाखको कोष स्थापना गरिएको रौतामाई गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृत खम्बराज राईले जानकारी दिए ।
कोषको रकमबाट कोरोना महामारी पूर्वतयारीका कार्यक्रम सञ्चालन गरिनुको साथै भविष्यमा आउन सक्ने अन्य प्रकृतिका प्रकोपसँग जुध्न सहयोग मिल्ने अधिकृत राईले बताए ।
कोरोना भाइरस विरुद्धको उच्च सतर्कता अपनाउदै स्वास्थ्यचौकी मुर्कुचीमा ३ बेडको क्वारेन्टाइन कक्षको स्थापना गरिएको छ । यसलाई थप गर्दै जाने योजना रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका सवै स्वास्थ्य चौकीहरुमा हेल्प डेक्सहरु स्थापना गरिएको र आउजाउ हुने नाकाहरुमा पनि हेल्प डेक्स राखिएको अधिकृत राईले बताए । स्वास्थ्य चौकीका स्वास्थयकर्मीहरुलाई व्यक्तिगत सुरक्षाका साधनहरु उपलब्ध गराईएको छ ।
गाउँपालिकाले स्वास्थ्यकर्मीहरुको लागि व्यक्तिगत सुरक्षा व्यवस्था (पिपिई) दिईएको छ भने स्वास्थ्यकर्मीहरु कार्यालयमै रहेर जुनसुकै समयमा उपचार तथा परामर्श सेवा पुर्याउने गरी व्यवस्थित गरिएको पालिकाले जनाएको छ । पालिका क्षेत्रमा यातायात र मानवीय भीड हुने गतिविधी, कार्यक्रमहरु पनि निषेध गरिएको छ ।
गाउँपालिकाभित्र सञ्चालनमा रहेका चार वटा एम्बुलेन्सहरुलाई हरदम तमतयार राखेको अधिकृत राईले जानकारी दिए । एम्बुलेन्समा कोरोना भाइरस संक्रमित वा शंकास्पद मानिस भेटिएमा निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने पालिकाले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया