उदयपुर / उदयपुरमा आइतबार दिउँसोदेखि नेपाल टेलिकमको सेवा अवरुद्ध भएको छ । टेलिकमद्वारा सञ्चालित ल्याण्डलाइन फोन, जिएसएम पोष्टपेड, प्रिपेड र स्काई मोबाइल दिउँसो २ बजेदेखि अवरुद्ध भएका कारण जिल्लाबासी उपभोक्ता मारमा परेका छन् ।
सुन्धाराको अप्टिकल फाइबर काटिएपछि टेलिकमको नेटवर्कमा फोन नलाग्ने, आफैं काटिने जस्ता समस्या देखिएका छन् । फोन र मोबाइल अवरुद्ध भएसँगै एडिअएसएल, वल्र्डलिङ्क सर्भरका इन्टरनेट सेवा पनि अवरुद्ध हुन पुगेपछि उपभोक्ता थप मारमा परेका छन् । फोन र मोबाइल अवरुद्ध हुँदा सूचना सम्पर्क टुट्नुका साथै इन्टरनेट अवरुद्ध हुँदा बैंकिङ सेवा र पत्रकारितामा समस्या परेको छ । दिउँसोदेखि मोबाइल र टेलिफोन नचल्दा सूचना सम्पर्क टुटेका बेला इन्टरनेट नचलेर थप समस्यामा पारेको नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले बताए ।
फोन र मोबाइल नचल्दा के कारणले नचलेको भन्ने बुझ्न पनि समस्या परेको छ । अध्यक्ष खड्का अनुसार मोबाइल र नेट अवरुद्ध भएका कारण समाचार सम्प्रेषण गर्न नसकेर पत्रकारहरु समस्यामा परेका छन् । टेलिकमको समस्याका कारण एनसेल मोबाइलबाट उपभोक्ताले काम चलाउनु परेको छ ।
त्यस्तै एडिएसएल र वल्र्डलिङ्कको नेट अवरुद्ध भएका कारण एनसेल मोवाईलको हटस्पट सेवाबाट महँगो शूल्कमा नेट चलाएर समाचार सम्प्रेषण गर्न पत्रकारहरु बाध्य भएको खड्काले बताए ।









