उदयपुर । जिल्लाको चौदण्डीगढी नगरपालिकाको नोवेल कोरोना भाइरसको संक्रमण फैलिनबाट रोकथामको तयारी तिव्र छ । नगरपालिकाले विदेशबाट आएकाहरुको लागि होम क्वारेन्टाइनमा बस्न आग्रह गर्दै विरामीको लक्षण देखिएमा नजिकको क्वारेन्टाइन वा आइसोलेशनमा राख्नको लागि तयारी करिव करिव पुरा गरेको छ । 
चौदण्डीगढी नगरपालिकाले वडा नं. ४ को नारद आदर्श क्याम्पस बसहामा ४ वटा, वडा नं. ५ को स्वास्थ्य चौकी भवनमा २ वटा, वडा नं. ६ र ७ को हकमा रामप्रसाद राई खेलमैदानमा निर्मित सामाजिक भवनमा ७ वटा डाक्टर र अक्सिनजन सहितको आइसोलेशन कक्ष तयारी अवस्थामा राखिएको मेयर खगेन्द्र राईले जानकारी दिए ।
मेयरका अनुसार चौदण्डीगढी वडा नं. ९ को स्वास्थ्य चौकी भवनमा ६ वटा र वडा नं. १० को वडा कार्यालयको सभा हलमा ५ वटा वेड सहित क्वारेन्टाइन तयारी अवस्थामा राखिएको छ । चौदण्डीगढी नगरपालिका वडा नं. ३ मा क्वारेन्टाइनको लागि बेड तयारी अवस्थामा रहेको र अन्य वडामा आवश्यकता अनुसार वेड राखिने मेयर राईले बताए ।
मेयर राईले भने, ‘ चौदण्डीगढीबाट संचालित ४ वटै एम्बुलेन्सलाई तयारी अवस्थामा रहन निर्देशन भएको छ, तर कतिपय स्वास्थ्यकर्मीका लागि अति आवश्यक सामाग्री बजारमा उपलब्ध नहुँदा कठिनाई भएको छ, तथापि बिशेष प्रकारको पोषाक पर्सनल प्रोटेक्टीभ इक्युपमेन्ट (पिपिइ) ज्याकेटको लागि काठमाडौंबाट आउन लागेको छ ।’
यस्तै बैदेशिक रोजगारको सिलसिलामा बाहिर रहेर घर फर्किएकाहरुको लागि प्रत्येक वडाका वडाध्यक्ष र सचिवहरुले तथ्याङ्क लिने काम जारी रहेको छ । अहिलेम्म दुई जना कतारबाट आएको देखिएको छ भने भारतको दिल्ली, बैंगलोर, पंजावबाट आएकाहरुको स्वास्थ्य परीक्षण गरेर घरमै छुट्टै क्वारेन्टाइनमा रहेन अनुरोध गरिएको मेयर राईले जानकारी दिए ।
यस्तै लकडाउनका समयमा कुनै व्यक्तिलाई रकम आवश्यक परेमा २४ औं घण्टा जुनसुकै समयमा बैंक खोल्ने वातावरण मिलाईएको छ भने बजारको औषधि पसल, स्वास्थ्य संस्था र केही तरकारी पसल बाहेक अन्य पसलहरुलाई पूर्णरुपमा बन्द गराईएको मेयर राईले जानकारी दिए । बेल्टार बजारको चोकहरुमा सफा खानेपानी र हात धुनको लागि सावुनपानीको व्यवस्था भएको छ ।
कोरोना भाईरसको सक्रमणबाट जोगिन सबै जनालाई आ–आफ्नो घर भित्रै बसेर लक डाउनको उल्लघंन नगरिदिनु हुन अनुरोध गरिएको छ । हाम्रो आफ्नै सानो लापरवाहीले ज्यान समेत जान सक्ने जोखिम रहेको हुँदा घर बाहिर जथाभावी ननिस्कि दिनु हुन अनुरोध गरिएको मेयर राईले बताए ।
लकडावनलाई विशेष ध्यान केन्द्रित गरी चौदण्डीगढी नगरपालिकाका नगर प्रमुख खगेन्द्र राई, प्रमुख प्रशासकीय अधिकृत शिव हुमागाइँ, नगर स्वास्थ्य शाखाका उप संयोजक तेजराज पोखरेल, ईप्रका बेल्टारका प्रहरी निरीक्षक वुद्धिराम चौलागाई, सशस्त्र प्रहरी वल वेस क्याम्पका प्रहरी निरीक्षक भुपेन्द्र बस्नेत लगायत दैनिक अनुगमण गस्तिमा खटिरहका छन् ।









