उदयपुर । विश्वमा नोवेल कोरोना भाइरस (कोभिड –१९) को सम्भावित संक्रमणलाई नियन्त्रण गर्न नेपाली सेनाले व्यारेक नै खाली गरेर २ सय बेडको क्वारेन्टाइनमा परिणत गरेको छ । नेपाली सेनाको १८ नम्बर बाहिनी अन्तरगत रणशार्दुल गणको उदयपुरको कटारी नगरपालिका १ स्थित बेलसोत व्यारेकको ३४ वटा भवनलाई खाली गरि २०० बेड क्षमताको क्वारेन्टाइनमा परिणत गरिएकोे हो ।
प्रदेश १ सरकारले गत फागुन २९ गते प्रदेश १ मा सम्भावित कोभिड–१९ को जोखिम न्यूनिकरण गर्न क्वारेन्टाइन निर्माणको निर्णय गरेको थियो ।
क्वारेन्टाईनको लागि व्यारेकमा रहेका नेपाली सेनालाई व्यारेक एक किलो मिटर टाढा अस्थाई टहरा निर्माण गरेर राखिएको रणशार्दुल गण बेलसोत क्याम्पका क्याप्टेन सुर्य बहादुर राईले बताए ।
विभिन्न कलष्टरमा विभाजित गरेर महिलालाई बेग्लै र पुरुषलाई बेग्लै क्षेत्रमा राख्ने गरि तयारी गरिएको र नेपाली सेनाले स्थानीय सरकार र प्रदेश सरकारसँग समेत सहकार्य गरिरहेको १८ नम्बर बाहिनी अड्डाका बाहिनी पति सहायक रथी कृष्ण प्रसाद सापकोटाले जानकारी दिए । ‘बेलसोत क्याम्पमा क्वारेन्टाईन र सैनिक एकै ठाउमा राख्दा समस्या हुने भएकाले सेनालाई हटाई व्यारेकलाई क्वारेन्टाईन बनाईएको हो ।’ सहायक रथी सापकोटाले भने, ‘ब्यारेकबाट केही पर अस्थायी टहरा निर्माण गरेर सैनिकहरुलाई राखिएको छ ।’
क्वारेन्टाइनमा वेड, झुल, मोबाइल चार्ज, बत्ती, पंखा लगायतको व्यवस्था गरिएको छ भने व्यारेकको गेटमा चिकित्सक सहितको टोलीले आशंका गरिएका संक्रमितको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था मिलाईएको नेपाली सेनाले जनाएको छ । क्वारेन्टाइन स्थलमा खटिने दक्ष चिकित्सकका लागि प्रदेश सरकारसँग समन्वय गरिने सेनाले जानकारी दिए ।









