उदयपुर । चौदण्डीगढी नगरपालिका २ नं.वडा कार्यालयले तीन हजार पाँच सय माक्स वडावासीलाई वितरण गरेको छ । आईतबार एक कार्यक्रम गरी तीन हजार पाँच सय माक्स टोल विकास संस्थामार्फत वडावासीलाई वितरण गरिएको हो ।
विश्वमा महामारीको रुपमा फैलिरहेको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण नियन्त्रणमा सहयोग पुग्ने उद्देश्यले वडावासीलाई माक्स वितरण गरिएको चौदण्डीगढी नगरपालिका २ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए । उनका अनुसार वडा कार्यालयको स्वास्थ्य शिर्षक अन्तर्गतको ५० हजार बजेटबाट तीन हजार पाँच सय माक्स खरिद गरी वितरण गरिएको बताए । वडाध्यक्षले भने, ‘मेरो वडावासीलाई स्वास्थ्य राख्ने जिम्मा मेरो भएकोले पहिलो चरणमा माक्स वितरण गरेको छु । सवैलाई सावुन पानीले हात धुनको लागि आग्रह गरेको छु भने कोरोना भाइरसबाट बच्ने उपायहरु बारे पनि जानकारी गराउँदै आएको छु ।’
कोरोना भाईरस निकै कडा भाईरस भएकोले यसके अहिले सम्म कुनै औषधि भ्याक्सिनसमेत बन्न नसकेको अवस्थाले गर्दा सबै भन्दा रोकथाम नै अहिले सम्मको विकल्प भएको प्राथमिक स्वास्थ्य केन्द्र बेल्टारका डाक्टर कमलकान्त चौधरीले बताए । घरमा जुनसुकै काम गरिसकेपछि राम्रोसंग सावुन पानीले हात धोएमा कम संक्रमण हुने चौदण्डीगढी स्वास्थ्य शाखाका संयोजक श्रीकान्त चौधरीले सुझाएका छन् ।
वडामा रहेको ६ वटा टोल विकास संस्थामार्फत माक्स वितरण गर्ने कार्यक्रम रहेकोले टोल विकास संस्थाका अध्यक्ष तथा प्रतिनिधिलाई माक्स हस्तान्तरण गरिएको वडाध्यक्ष सुवेदीले बताए ।









