उदयपुर / उदयपुरको कटारी नगरपालिका ५ रिस्कु तिनतलेमा मंगलबार दिउँसो टिफर दुर्घटनामा परी १४ जना घाईते भएका छन् । घाईतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीले जनाएको छ । स्थानीय चौरीमा आयोजित फुटबल खेल हेर्ने युवाहरु बोकेर कटारीबाट आउदै गरेको ना ३ ख ३२३९ नं. को टिफर सडकमा एक्कासी पल्टेर दुर्घटना हुदा त्यसमा सवार यात्रु घाईते भएका हुन् । दुर्घटनामा परेकामध्येकनपा ५ का ६५ वर्षीय पदमलाल दनुवार, सोही ठाउँका २१ वर्षीय रामदास दनुवार र सोही ठाउँका ४५ वर्षीय रामदेव दनुवारको अवस्था गम्भीर रहेको इप्रका कटारीका डिएसपी ध्रुबबहादुर श्रेष्ठले बताए । उनका अनुसार उनीहरु तीनैजनालाई घट्नालगत्तै कटारी अस्पतालमा प्रारम्भिक उपचारपछि बिराटनगर पठाइएको छ । उनीहरुसँगै घाईते भएका अन्य ११ जनालाई पनि कटारी अस्पतालले बिराटनगर रेफर गरेको डिएसपी श्रेष्ठले बताएका छन् । ३० जना सवार यात्रुमध्ये बाँकी सामान्य घाईतेको उपचार कटारी अस्पतालमै भईरहेको र कोही घर फर्किसकेको प्रहरीले जनाएको छ । घट्नालगत्तै फरार चालक कटारी नगरपालिकाकै १८ वर्षीय सुनिल मगरको खोजी भईरहेको छ । टिफर मालिक प्रेम श्रेष्ठलाई भने सुरक्षाका लागि नियन्त्रणमा लिएर इप्रकामै राखिएको छ । तत्काल घाईतेको उपचार गरेपछि टिफर र चालकमाथि कारबाही गर्नेगरी अनुसन्धान अघि बढाइएको डिएसपी श्रेष्ठले बताएका छन् ।
यस्तै बेलका नगरपालिका १ स्थित आमबासीमा मोटरसाईलको ठक्करबाट एक जना पैदल यात्रुको मृत्यु भएको छ । मोटरसाइकलले पैदल यात्रुलाई ठक्कर दिदाँ चौदण्डीगढी नगरपालिका वार्ड न ४ का ५५ का बर्षिया सरोज तामाङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक अर्जुन रानाभाटले जानकारी दिए । सप्तरीको फत्तेपुरबाट उदयपुरको रामपुर तर्फ आउँदै गरेको को २९ प ४४३० ले ठक्करबाट घाईते भएका तामाङलाई उपचारको क्रममा विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लादै गर्दा बाटोमा मृत्यु भएको जनाईएको छ । गम्भिर घाइते भएका मोटरसाईकल चालक हरि चन्द्र राईको विपीमा उपचार भईरहेको प्रहरीले जनाएको छ । यो दुर्घटना सगै विगत १५ दिनमा बेलकामा सवारी दुर्घटनामा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

तपाईको प्रतिक्रिया